२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

लुम्बिनी प्रदेश सरकारले सिद्धार्थ रंगशालालाई सहयोग गर्ने

सोमवार , माघ १७, २०७८

भैरहवा, १७ माघ । 
भैरहवास्थित सिद्धार्थ रंगशालालाई लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिएको छ । संघीय सरकार मातहत रहेको रंगशालामा लगानी गरी यसलाई अन्तर्राष्ट्रियस्तरको खेलमैदान बनाउन प्रदेश सरकारले सहयोग गर्ने भएको हो । 

लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दीन खाँले सिद्धार्थ क्रिकेट रंगशालालाई विभिन्न उपकरण खरिदका लागी तत्काल बजेटको व्यवस्था गर्ने आश्वासन दिएका छन् । सोमबार रंगशालाको अवलोकन गर्दै मन्त्री खाँले यसलाई अगाडी बढाउन प्रदेश सरकारले संघीय सरकारसंग सहकार्य गर्ने बताए । ‘यो रंगशाला प्रदेशकै गौरवको रुपमा रहेको छ । यहाँ अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनोस् भनेर प्रदेश सरकारको पनि मान्यता छ र यही मान्यता अनुसार हामी अगाडी बढ्नेछौं, ’उनले भने ।

अहिलेलाई प्रदेश सरकारकै लगानीमा छात्रावाससहितको एकेडेमी सञ्चालन हुन गइरहेको उनले बताए । क्रिकेटमा रुची रहेका विपन्न विद्यार्थीहरुलाई लक्षित गरी रुपन्देही क्रिकेट संघको सहकार्यमा एकेडेमी सञ्चालन गरिने मन्त्री खाँले जानकारी दिए । 
सिद्धार्थ क्रिकेट रंगशालामा अहिले विभिन्न उपकरणको अभावमा खेल सञ्चालन गर्न नसकेको रुपन्देही क्रिकेट संघका सचिव सञ्जय गुरुङले बताए । मैदानको लागि आवश्यक पर्ने ईलेक्ट्रोनिक रोलर, साईड स्क्रिन, सुपर सोकर, बाउण्ड्री रोप, स्कोर बोर्ड लगायतका उपकरणहरुका लागी करिब ५० लाख बजेट आवश्यक रहेको गुरुङले मन्त्री खाँलाई जानकारी गराए ।

मन्त्रीले खाँ ले दिएको आश्वासनले रुपन्देही क्रिकेटमा सकारात्मक तरंग ल्याएको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले बताए । उनले नेपाल क्रिकेट संघलाई रुपन्देही क्रिकेटको मेरुदण्ड बताएको बताए । यस कारण अब रुपन्देही क्रिकेट संघ आगामी दिनमा थप बलियो भएर जाने आशा जगाएको बताए । सिद्धार्थ क्रिकेट रंगशाला अहिले भिआइपी प्याराफिटसहित ७ हजार दर्शक क्षमताको रहेको र यसलाई भविष्यमा ११ हजार क्षमताको पुर्याइने नेपाल क्रिकेट संघका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लको भनाइ छ । उनले राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा प्याराफिट निर्माणाधिन अवस्थामा रहेको र नेपाल क्रिकेट संघ (क्यान) को भैरहवामा बसेको बैठकबाट २ जना मैदानमा काम गर्ने कर्मचारी थप गर्ने निर्णय भएको बताए । मल्लले खेलमैदानको गुरुयोजना नै बनाएर यसको डीपीआर गरेर अगाडी बढेको बताए ।