२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

रोजगारी सम्बन्धी गुनासो सुन्न कल सेन्टर सञ्चालनमा 

आइतवार , माघ १६, २०७८

काठमाण्डौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाई गर्न कल सेन्टर सञ्चालनमा ल्याएको छ। चौबीसै घण्टा सेवा उपलब्ध हुने उक्त कल सेन्टरको आइतबार मन्त्रालयमा श्रम मन्त्री कृष्ण कुमार श्रेष्ठले उद्घाटन गरे। बैदेशिक रोजगार बिभाग अन्तर्गतको उक्त गुनासो सेन्टरलाई प्रभावकारी बनाउनका लागि मन्त्रालयमामा नै राखिएको हो।

अव कल सेन्टर तथा वैदेशिक रोजगारी सम्वन्धी गुनासो सुनुवाइ कक्षमार्फत वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव संकलन गरी एकीकृत गरिने मन्त्रालयले जनाएको छ। उक्त सेन्टरमा विदेशमा गएर समस्यामा परेका जो कोहिले गुनासो टिपाउन सक्नेछन्। मन्त्रालयका अनुसार उक्त गुनासोलाई मन्त्रालयले सकेसम्म छिटो समाधान गर्ने जनाएको छ। जानकारी तथा गुनासोका लागि स्वदेश र विदेशबाट निशुल्क फोन, भाइवर, फेसवुक लगाएत बिभिन्न माध्यमबाट सम्पर्क गर्न सकिने मन्त्री श्रेष्ठले बताए। 

आएका समस्या तथा गुनासोहरुलाई प्राथमिकिकरण गरी समाधान गरिनेछ भने सेवाग्राहीलाई आफ्नो गुनासो सुनुवाइको अवस्थाबारे जानकारी समेत दिइने मन्त्री श्रेष्ठले जानकारी दिए। मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको सन्दर्भमा नेपाली नागरिकलाई अलपत्र पार्ने जो सुकै संस्था वा व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारवाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने प्रतिवद्धता पनि जनाए। 

मन्त्री श्रेष्ठले पीडितको गुनासो सुनुवाइका लागि प्रतिउत्तर कार्यटोली तथा प्रहरीको समेत सहभागितमा मार्सल टोली गठन गरी दोषीलाई कारवाही गर्न सुरु गरिएको बताए। वैदेशिक रोजगारीका नाममा हुने कुनै प्रकारको रकम संकलन, ठगी लगायतका क्रियाकलापमा संलग्न व्यक्ति, मेनपावर कम्पनी वा अन्य संस्था उपर वैदेशिक रोजगार ऐन, २०६४ र अन्य सम्बद्ध कानूनवमोजिम पक्राउ गर्ने, अनुसन्धान गर्ने र आवश्यक कारवाही अगाडि बढाइने मन्त्रालयले जनाएको छ। 

विदेशमा अलपत्र बनाउने दलालको फन्दाबाट जोगाउन सरकारले यसअघि श्रम मन्त्रालयका उपसचिव विष्णु लामिछानेको नेतृत्वमा मार्सल टिम गठन पनि गठन गरेको छ।