भैरहवा, ८ माघ । मुलुकमा कोरोना संक्रमण व्यापक रुपमा बढिरहेको छ । कोरोनाका कारण अस्पताल भरिभराउ भएका छन् भने होम आइसोलेशनमा बस्नेहरु पनि दिनानुदिन बढिरहेका छन् । अस्पताल प्रशासनलाई चुस्त बनाउनुपर्ने बेला लुम्बिनी प्रदेश सरकारले भने भएका प्रदेशभरका अस्पताललाई नेतृत्वविहीन बनाएको छ । कोरोनाका नयाँ संक्रमितहरू थपिँदै जाँदा पूर्वतयारी चुस्तदुरुस्त बनाउनुपर्ने बेला लुम्बिनी सरकारले राजनीतिक स्वार्थका कारण नेतृत्वविहीन बनाएको आरोप छ ।
सरकारले अस्पताल विकास समितिका अध्यक्षसहितका पदाधिकारीलाई हटाए पनि नयाँ समिति चयन नगर्दा अस्पतालमा उपचारदेखि व्यवस्थापनमा समस्या उत्पन्न भइरहेको छ । भारतमा कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै रोजगारीका लागि भारत पुगेका नेपालीहरु घर फर्किरहेका छन् । भारतबाट आएका अधिकांश व्यक्तिमा कोरोना संक्रमण पुष्टी भइरहेको छ ।
प्रदेश सरकारले भारतसंगको सीमा नाकामा एन्टिजेन परीक्षण र निगरानीलाई कडाइ गरिएको जनाएको छ । तर, सीमा नाकामा रहेका हेल्थ डेस्कमा कार्यरत कर्मचारी नै संक्रमित भएपछि स्वास्थ्य परिक्षण समेत प्रभावकारी हुन सकेको छैन् । हेल्थ डेस्कमा जनशक्ति अभाव हुँदा कतिपय परिक्षण नै नगरी नेपाल प्रवेश गरेका छन् । लुम्बिनी प्रदेशका सबैजसो अस्पतालमा कोरोना संक्रमितको चाप बढ्न थालेको छ ।
लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्ले अस्पताल विकास समितिमा शंकर पोखरेल नेतृत्वको सरकारले मनोनित गरेका अध्यक्ष र सदस्य हटाउने निर्णय गरेपछि अहिले अस्पतालहरु नेतृत्वबिहीन बनेको छ । सरकारको निर्णयका कारण लुम्बिनीका १४ वटा सरकारी अस्पतालहरू नेतृत्वविहीन भएका हुन् ।
प्रदेश सरकारले अस्पताल विकास समितिका अध्यक्ष र सदस्यहरू हटाए पनि नयाँ नियुक्ति भने गरेको छैन । सरकार गठन भएको ६ महिनासम्म आँखा चिम्लेर बसेको लुम्बिनी सरकारले महामारी सुरु भएपछि हतारहतार आफ्ना नेता कार्यकर्ता भर्ती गर्ने समय कुरेर बसेको आरोप लाग्न थालेको छ । ६ महिनासम्म सिन्को भाच्न नसकेको सरकारले कोरोना महामारी सुरु हुनै लाग्दा अस्पताल विकास समितिका पदाधिकारीहरू हटाइएपछि जनस्तरबाट समेत विरोध हुन थालेको छ ।
सरकारको कदमका कारण कोरोनाको रोकथाम तथा नियन्त्रणका योजना निर्माण प्रभावित हुने चिन्ता समेत बढेको छ । यसअघिको संक्रमण रोकथाममा निकै मिहिनेत गरेका रुपन्देहीका दुई कोरोना विशेष अस्पतालमा एकाएक नेतृत्वविहीन बनाउँदा संक्रमण रोक्ने योजना अलपत्र रहने र थप अस्तव्यस्त हुने चिन्ता स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् ।
कोभिड महामारीका बेला सरकारले अस्पतालको व्यवस्थापकिय जिम्मेवारी बहन गरेका पदाधिकारी बिहिन बनाएर रमिता देखाएको सामाजिक अभियन्ता प्रख्यात बन्जाडेको गुनासो छ। उनले जुनसुकै सरकार पनि जनताको सेवाका लागि नभई आफ्ना कार्यकता भर्ति गर्नका लागि उद्यत रहेको उल्लेख गरे।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सूर्य भट्टराई तथा भीम अस्पताल भैरहवामा नारायण प्रसाद भण्डारीले कोरोना महामारीमा अस्पताल व्यवस्थापनको राम्रो पहिचान बनाएका थिए । ३ वर्षको लागि अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भए पनि करिब ८ महिना मात्र काम गर्न पाएको भीम अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष भण्डारीले बताए । ‘तीन वर्ष काम गर्न पाएको भए अस्पतालमा धेरै काम गर्न सक्थे तर काम गर्न पाइएन, ’भण्डारीले भने ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संक्रमण रोकथाम गर्ने समयमा सबै अस्पताललाई नेतृत्वविहीन बनाउनु आम नागरिकमाथिको खेलवाड भएको आरोप लगाएको छ । एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले गठबन्धन सरकारले आफ्ना पार्टीका नेता कार्यकर्ता भर्ती गर्नका लागि अस्पताललाई नेतृत्वविहीन बनाएकोमा आश्चर्य प्रकट गरेका छन् ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले अस्पतालमा अध्यक्ष तथा अन्य पदाधिकारी नभएर कुनै काम नरोकिने बताएका छन् । यद्यपि, व्यवस्थापनको कार्यमा भने केही समस्या भएको उनी स्वीकार्छन् । सरकारले छिटै नयाँ व्यक्तिलाई ल्याउने तयारी गरेको शर्माको भनाइ छ ।
अस्पतालका नियमित काम नरोकिएको भन्दै मन्त्री शर्माले पहिलेको भन्दा थप व्यवस्थित बनाइने दावी गरे । यस अघिदेखि नै सञ्चालनमा रहेका अस्पताल, आइसोलेशन, अक्सिजन प्लान्टहरू सबैको राम्रो व्यवस्थापन गरिने उनको भनाइ छ । महामारीबाट बच्नको लागि स्वास्थ्य मापदण्ड पालनासहित खोपको पूर्ण मात्रा लगाउन शर्माले आग्रह गरे ।