
शनिवार , माघ १, २०७८
भैरहवा, १ माघ ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिले बाटो बिराएको भन्दै चिन्ता व्यक्त गरेका छन् । भैरहवामा आयोजित जेसीआई सिद्धार्थ, नेपाल (सिद्धार्थ जेसीज) को ४७ औं पदस्थापन समारोहमा नेता गुरुङले भने, “नेपाली राजनीतिले बाटो बिराएको छ । नेतृत्वले त्याग गर्न नसक्दा बारम्बार समस्या सिर्जना हुने गरेको छ । यो चिन्ताको विषय हो ।”
उनले बाटो बिराएको राजनीतिलाई सही बाटोमा ल्याउन आफूहरू लागिरहेका बताए । प्रष्ट विचार र सहीलाई सही, गलतलाई गलत भन्नेहरूलाई हरेक राजनीतिक पार्टीमा पाखा लगाउने काम भएको भन्दै दुःख व्यक्त गर्दै उनले भने, “मैले पनि बल्लबल्ल दुई मतले कांग्रेस उपसभापति जिते । मेरो राजनीतिक तथा व्यक्तिगत जीवनमा जीतहारले खासै अर्थ नराख्ला तर म उपसभापति नजितेको भए तपाईँहरूजस्ता संघ–संस्थाले पनि मलाई बोलाउनुहुन्न । सामाजिक संघ–संस्थाले पनि पदलाई महत्व दिन थाल्नुभएको छ । यहीबाट राजनीति बिग्रिन सुरु भएको हो ।”
उनले भ्रष्ट भनेर चिनिएकाहरूलाई बहिष्कार गर्न पनि आग्रह गरे । गुरुङले भने, “भ्रष्टाचारी न दलको हुन्छ, न त देशको । ऊ जुनसुकै तहमा वा पार्टीको भए पनि भ्रष्टाचारी नै हो । अख्तियारले दोषी देखाए मात्रै भ्रष्टाचारी भन्ने होइन, कुनै पनि मान्छेको हैसियत अस्वभाविक रूपमा वृद्धि हुन्छ भने त्यसतर्फ आम नागरिकले खोजीनीति गर्नुपर्छ ।”
कार्यक्रममा नेपाल जेसीजका कार्यकारी उपाध्यक्ष अनिलबहादुर शाहीले जेसीजमार्फत देशैभर नेतृत्व विकास र मानवीय सेवामा खेलेको भूमिकाको चर्चा गरे । सो अवसरमा निर्वाचन आयुक्त समेत रहेका पूर्वअध्यक्ष ओमकुमार श्रेष्ठले जेसिज विधि र विधानमा हिँडेमा समस्या नहुने बताए ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्ले, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ लगायत विभिन्न संघ–संस्थाका प्रमुखले समेत मन्तव्य राख्दै जेसीजमार्फत भएका मानवीय कार्यको प्रशंसा गरेका थिए ।
सिद्धार्थ जेसीजको ४७ औँ पदस्थापन समारोहबाट गोपाल ज्ञवालीले कमल जिसीलाई नेतृत्व हस्तान्तरण गरेका छन् । कोरोनाको समयमा देशैभरका जेसीजका शाखामध्ये उत्कृष्ट काम गरेको भन्दै सिद्धार्थ जेसीजले सम्मान समेत प्राप्त गरेको थियो । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij