
मंगलवार , पौष २७, २०७८
भैरहवा, २७ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को दोस्रो पूर्ण बैठक भैरहवामा सम्पन्न भएको छ । बैठकले जनवर्गीय संगठन विस्तारलाई तीव्रता दिने निर्णय गरेको छ । बैठकको निर्णयानुसार अब प्रत्येक वडामा राष्ट्रिय युवा संघ र महिला संघ गठन गरिने नगर कमिटी अध्यक्ष रामबहादुर बस्नेतले बताए ।
बैठकले माघ १५ गतेभित्र वडा कमिटी गठन गरिसक्ने, पार्टी केन्द्रबाट उपलब्ध स्टीकरहरु नगरका प्रत्येक घरघरमा पुर्याउने निर्णय समेत गरेको अध्यक्ष बस्नेतले जानकारी दिए । ‘पार्टीको स्टीकर घरघरमा पुर्याउने निर्णय भएको छ । यद्यपि कोरोना भाइरस तीव्र रुपमा फैलिएको छ । यदि प्रशासनले अनुमति दियो र महामारी केही मत्थर भयो भने हामीले घरघरमा स्टीकर बाँड्ने काम गर्नेछौं । होइन भने यसलाई स्थगित गरिने छ’, बस्नेतले भने ।
त्यस्तै बैठकले पुस मसान्तसम्म प्रत्येक वडा कमिटी इञ्चार्जहरुले वडामा गर्नुपर्ने विकास निर्माणका योजनाहरुको पहिचान गरी नगर पार्टी कार्यालयमा पठाउने, संगठन र पार्टी कमिटीलाई चुस्त राख्नुका साथै आमनागरिकको आवश्यकता र आवाजहरुलाई नियमक निकायसम्म पुर्याउन पहल गर्ने निर्णय गरेको छ ।
बैठकमा संविधानसभा सदस्य एवं पार्टी केन्द्रिय अनुशासन आयोगका सदस्य आदित्यनारायण कसौधन, केन्द्रिय सदस्य एवं रुपन्देही सह–इञ्चार्ज उमा काफ्ले, प्रदेश कमिटी सदस्य एवं रुपन्देही सचिव अविराम विक, प्रदेश सदस्यहरु डा. ऋषिराम शर्मा, श्रीराम यादव, जिल्ला सचिवालय सदस्य एवं नगर इञ्चार्ज तारापति भण्डारी लगायतले बोल्दै संगठन विस्तारसँगै महामारीमा जनताको पिरमर्का बुझी सहयोगीको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij