२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

कर तिरेपछि नागरिकले निःशुल्क खानेपानी पाउनुपर्छ : भरत शाह

मंगलवार , पौष २७, २०७८

सैनामैना, २७ पुस । 
संघीय संसद्का सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले नागरिकले खानेपानी निःशुल्क उपभोग गर्न पाउनुपर्ने बताएका छन् । उनले अहिले धेरै ठाउँमा खानेपानी केही व्यवस्थित भइसकेको तर धारा जडानको लागि महंगो शुल्क तिर्नुपर्दा विपन्न नागरिक मारमा परेको बताए ।

रुपन्देहीको सैनामैना नगरपालिका–९ स्थित दलदले बरपानी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको साधारण सभा तथा अधिवेशनमा बोल्दै क्षेत्र नम्बर ५ का सांसद शाहले नागरिकले कर तिरिसकेपछि खानेपानी जस्तो आधारभूत सुविधा निःशुल्क पाउनुपर्ने उल्लेख गरे । ‘जनतासँग कर लिइसकेपछि खानेपानी जस्तो आधारभूत कुराहरुमा सरकारले ध्यान दिँदैन भने के अर्थ भयो ।’ उनले भने ‘संसारमा पनि यी कुराहरुमा व्यवस्थित गरिन्छ ।

भारतको दिल्लीमा केजरीवालले २० हजार लिटरसम्म कसैलाई पैसा पर्ने छैन भनेका छन् ।’ शाहले पानीको शुल्क क्रमशः कम गर्दै निःशुल्क बनाउने तर्फ जानुपर्ने उल्लेख गरे । यो विषयमा संसद्मा पनि बहस गर्ने र नीतिगत कुरामा समेट्ने उनले जानकारी दिए ।

कांग्रेस नेता समेत रहेका शाहले आफ्नो पार्टी नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधानको लागि पनि पहल गरिरहेको बताए । कसैलाई पनि भुमिहिन बनाउन नहुने भन्दै उनले एकपटक सबैलाई भूमिहिन सबैलाई जग्गा र लालपुर्जा उपलब्ध गराइने उल्लेख गरे । यसको लागि छिट्टै आयोग गठन भएर काम अघि बढ्ने शाहले जानकारी दिए ।

कार्यक्रममा सैनामैना नगरपालिकाकी उपप्रमुख विना रानामगरले नगरका सबै ठाउँमा स्वच्छ खानेपानी पु¥याउन नगरपालिका प्रतिबद्ध रहेको बताइन् ।

दलदले बरपानी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष लिलाधर भण्डारीले प्रतिवेदन प्रस्तुत गर्दै खानेपानीको लागि हालसम्म १६ हजार २ सय मिटर पाइप बिच्छाइएको र २ सय ३६ घरमा धारा जडान भएको जानकारी दिए । शुल्क तिरेका र धारा जडान नभएका, सदस्यता शुल्क मात्र तिरेका गरी कुल ३ सय ३७ जना संस्थाका सदस्य रहेको उनले बताए ।

कार्यक्रममा कांग्रेसका पूर्व जिल्ला उपसभापति फणेन्द्र शर्मा, नेता विष्णु पोखरेल, सैनामैना ९ का वडाध्यक्ष डोलराराज भण्डारी, विष्णु न्यौपाने, उपभोक्ता घनश्याम न्यौपाने, संस्थाका सचिव तिलक नेपाली, सदस्य रामचन्द्र मरासिनी लगायतले बोल्दै स्वच्छ खानेपानी पाउनु जनताको अधिकार भएको बताए । अधिवेशनले संस्थाको नयाँ नेतृत्व समेत चयन गर्ने छ ।