images

शनिवार, बैशाख ८ गते २०८१

बुटवल–नारायणगढ सडक निर्माण कार्य कछुवा गतिमा 

बुटवल–नारायणगढ सडक निर्माण कार्य कछुवा गतिमा 

म्याद सकिन ७ महिना बाँकी हुँदा १३ प्रतिशत काम

images
images
images
शुक्रवार, पौष २३ २०७८
शुक्रवार, पौष २३ २०७८
  • बुटवल–नारायणगढ सडक निर्माण कार्य कछुवा गतिमा 

    बुटवल, २३ पुस । 
    बुटवल नारायणगढ द्रुतमार्ग निर्माण कार्य कछुवा गतिमा चलेको छ । प्रचार प्रसारमा आए अनुसार काम भने भएको छैन । ठेक्का सम्झौताको म्याद सकिन ७ महिना बाँकी छँदा बुटवल–नारायणगढ चार लेन सडक जम्मा १३ प्रतिशत काम भएको छ । २०७५ को पुषमा ठेक्का सम्झौता भएको सडक २०७९ साउनमा निर्माण सम्पन्न गर्ने भनिएको थियो । तर ठेकेदारको लापरवाही, कोरोनाका कारण भएको लकडाउनसंगै कामदार, कर्मचारीको पटकपटकको आन्दोलनले सडक अस्तव्यस्त छ । 

    images
    images
    images

    ठाउँ ठाउँमा सडक भत्काएर अलपत्र छोडिएको छ । सामान्य मर्मतसम्भारको काम समेत गरीएको छैन । निर्माण कम्पनीले पुल र कल्भर्डको काम चलिरहेको भने पनि ती काममा न्यून कामदारहरु खटाइएको छ । जसका कारण निर्माणको गति निकै सुस्त छ । धुलोले सडक र छेउका बस्तीहरु दिउँसै अन्धकारमय देखिन्छन् ।

    ट्राफिक प्रहरीका अनुसार यो खण्डमा सवारी दुर्घटनाका घटना बढेका छन् । महिनौसम्म निर्माणाधीन सडक अलपत्र हुँदा बर्दघाट–दाउन्ने–दुम्किबास क्षेत्रमा दिनहुँ घण्टौ जाम लाग्छ । आकस्मिक सेवाका एम्बुलेन्स, दमकल समेत त्यही जाममा फस्ने गरेको स्थानीय बताउँछन् ।

    बुटवलबाट ३ घण्टामा पुगिने नारायणघाटसम्मको यात्रा अहिले ६ घण्टा बढी लाग्ने गरेको सवारी चालक तथा यात्रुको गुनासो छ । पूर्वमेचीदेखि पश्चिम महाकालिसम्म जोड्ने पूर्वपश्चिम राजमार्गकोमध्ये खण्डमा पर्ने बुटवल–नारायणघाट सडक चितवन पश्चिमबाट काठमाडौ जाने एक मात्र सडक हो ।

    दैनिक हजारौ मालबाहक र यात्रुबाहक सवारीसाधन ओहोरदोहोर गर्ने यही सडक महिनौदेखि अस्तव्यस्त हुँदा यात्रु, सर्वसाधारणले निकै सास्ती खेप्नु परेको छ । बुटवल–नारायणगढघाट १ सय १३ किलोमिटर सडकलाई ४ लेनमा स्तरोन्नति गर्न सन् २०१८ को डिसेम्बरमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन (सिएससीईसी) संग ठेक्का सम्भौता भइ २०१९ को फेब्रुअरीबाट काम सुरु भएको थियो । सम्झौतामा २०२२ को अग्रस्थमा निर्माण गरिसक्नुपर्ने  उल्लेख छ । ४४ महिनामा काम सक्ने गरी सम्झौता गरेको निर्माण कम्पनीले ३७ महिना बितिसक्दा जम्मा १३ प्रतिशत काम गरेको छ । बिभिन्न बहानामा कम्पनीले पहिलो वर्ष कामै नगरी समय गुजारेको थियो ।

    दोश्रो वर्ष कोरोना र लकडाउनका कारण कामले गति लिएन । अवस्था सहज भएपछि पनि कम्पनीले विभिन्न बहानाबाजी गर्दै कामलाई तीव्रता दिएको छैन । कर्मचारी, कामदारहरुको पटक पटकको आन्दोलनले पनि आयोजनालाई असर गरिरहेको छ । 
    त्यसो त आयोजनाको साइट क्लियर नै नगरी हतारमा ठेक्का सम्झौता गरेर सडकको शिलान्यास गरिएको थियो । जसका कारण लामो समय त्यसमै अल्झिनु परेको गुनासो आयोजनाका अधिकारी तथा निर्माण कम्पनीको छ । निर्माण कम्पनीले अहिले समय थपको माग गर्दै पत्राचार गरेको छ । तर म्याद थपबारे निर्णय भइनसकेको बुटवल–नारायणगढ सडक परियोजनाको दाउन्ने पश्चिमका प्रमुख इञ्जिनियर प्रदीप शाक्यले बताए । पछिल्लो समय कम्पनीले कामदारको संख्या बढाएर कामलाई गति दिएको पनि शाक्यले बताए । उनले अहिले ४० स्थानबाट काम भइरहेकोले निर्माणमा आशा पलाएको बताए ।

    बुटवल–नारायणगढ सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । नवलपरासी बर्दघाट–सुस्ता पूर्वको गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८.५८ किलोमिटरलाइ खण्ड ‘ख’ अन्तर्गत राखिएको छ ।

    दुवैतिर पछिल्लो समय पुल र कलभर्ड निर्माणको काम चलिरहे पनि रफ्तारमा काम हुन सकेको छैन । पश्चिमतर्फ ९ वटा ठूला र २ वटा साना पुलको काम भइरहेको शाक्यले बताए । ९० वटा कल्भर्ट निर्माण भइरहेको जानकारी दिए । दाउन्ने पूर्वमा पनि रुख कटान, विद्युतका पोल र खानेपानी पाइपको काम भइरहेको आयोजनाले जनाएको छ । 

    यो सडक कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँको लागतमा निर्माण हुँदैछ । कुल लागतको ८५ प्रतिशत एडिबीको सहुलियत ऋण हो। बाँकी रकम नेपाल सरकारकै हुनेछ । एडिबीले नेपाल सरकारलाई १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij