
शुक्रवार , पौष १६, २०७८
बुटवल, १६ पुस ।
लाफा समूह बुटवलको आयोजनामा बी लेभल पुरुष तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता–२०७८ हुने भएको छ । समूहको आयोजनामा आगामी माघ २२ र २३ गते दुईदिने बी लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको हो ।
प्रतियोगितामा लुम्बिनी प्रदेशसहित चितवन, मकवानपुर, कास्की, दाङ लगायतका जिल्लाबाट खेलाडीहरु सहभागी हुने कार्यक्रम संयोजक तथा समूहका उपाध्यक्ष बबिन थापाले जानकारी दिए । यस वर्ष १ सय १६५ बढी टिम सहभागि हुने थापाले बताए ।
खुलातर्फ ११५ तथा भेट्रान्सतर्फ ५० बढी टिमको सहभागिता रहने प्रतियोगितामा खुलातर्फका विजेताले ३५ हजार नगद, ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै, उपविजेताले २० हजार तथा तेस्रो हुनेले १० हजार नगद, ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । त्यसै गरी उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी तथा उदयमान खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको समूहका संरक्षक बासुदेब लामिछाने मगरले जानकारी दिए ।
त्यस्तै भेट्रान्सतर्फ भने प्रथम पुरस्कार २५ हजार, दोस्रो पुरस्कार १५ हजार र तृतीय पुरस्कार १० हजार ५ सय ५५ रहेको छ । प्रतियोगितामा सहभागिताका लागि खुला तर्फ २५ सय प्रवेश शुल्क र भेट्रान्सतर्फ २ हजार प्रवेश शुल्क राखिएको लामिछानेले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्नका लागि १० लाख रुपैयाँ खर्च अनुमान गरिएको समूहका अध्यक्ष तारा रेश्मीमगर बताए । खेलप्रेमी र विभिन्न संघ–संस्थाहरुको सहयोगबाट प्रतियोगिता गर्न लागिएको उनले बताए । लगातार ३ वर्षसम्म राष्ट्रिय लेभलको ब्याडमिन्टन प्रतियोगिता गर्दै आएको समूहले यस वर्ष स्थानीयस्तरका खेलाडी उत्पादन गर्नको लागि बी लेभलको प्रतियोगिता आयोजना गर्न लागेको रेश्मी बताए । प्रतियोगिताले यस क्षेत्रको खेलकुद विकासमा समेत टेवा पुग्ने उनले बताए ।
समूहले सामाजिक उत्तरदायित्व अन्र्तगत एम्बुलेन्स खरिद, अनाथ÷वृद्धाश्रमलाई सहयोग, नियमित रक्तदानका साथै ब्याडमिन्टन तथा भलिबल प्रतियोगिताहरु आयोजना गर्दै आएको छ । समूहले भदौ महिनामा बी लेभल भलिबल प्रतियोगिता सम्पन्न गरिसकेको छ । पटकपटक पनि स्थानीय तहसंग हल निर्माणको लागि जग्गा उपलब्ध गराउन आग्रह गरे पनि जग्गा नपाउँदा निजी कवर्डहल लिजमा लिएर चलाउनुपर्ने बाध्यता रहेको समूहका पूर्वअध्यक्ष केशव रानाले गुनासो गरे । समुहमा हाल १७५ भन्दा बढी सदस्यहरुले दैनिक रुपमा ब्याडमिन्टन खेल्दै आएका छन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij