
शनिवार , पौष १०, २०७८
बुटवल, १० पुस ।
लुम्बिनी प्रदेशस्तरीय सी लेभल पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । बुटवलको देवीनगर वलीपथस्थित कभर्ड हलमा सुरु भएको प्रतियोगिताको लुम्बिनी प्रदेशका जलस्रोत, उर्जा तथा सिंचाई मन्त्री विरबहादुर रानाले शुभारम्भ गरे । कार्यक्रममा बोल्दै मन्त्री रानाले खेलकुदको विकासका लागि सबैले सहकार्य गर्न आवश्यक रहेको भन्दै प्रदेश सरकारबाट खेलकुदको विकासका लागि सक्दो सहयोग गर्ने बताए ।
आशिष ग्रुपका प्रबन्ध निर्देशक आयुषकृष्ण श्रेष्ठको अध्यक्षता तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका सेकेण्ड भाईस डिष्ट्रिक गभर्नर एमजेएफ नवराज न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापा, ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठग बहादुर केसी, बुटवल उपमहानगरपालिका–११ का अध्यक्ष रामचन्द्र क्षेत्री, वडा प्रहरी कार्यालय रामनगरका प्रमुख प्रहरी निरीक्षक सुर्दशन पन्थी, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक एक्जुकेटिभ चिफ अर्जुनमान सैजु, को–चिफ पुरुषोत्तमभक्त प्रधानांग, नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्य जीवनसिंह कुँवर, सहयोगी संस्था लायन्स क्लब अफ बुटवल स्टार्सका अध्यक्ष एन्जील मिया खान लगायतको आतिथ्यता रहेको थियो ।
प्रतियोगिताको मुख्य निर्णायकमा अर्जुन कार्की, निर्णयकमा प्रमोदसिंह पहारी र जीवन बहादुर अधिकारी रहेका छन् ।
आशिष स्टेशनरी तथा स्पोर्टस् हाउसको आयोजनामा हुने प्रथम ‘आशिष कप ब्याडमिन्टन’ मा लायन्स क्लब अफ बुटवल स्टार्सको समेत सहभागिता छ ।
प्रतियोगिताको विजेताले नगद ३० हजारसहित मेडल, सिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी द्वितीय हुनेलाई २० हजार तथा तृतीयलाई १५ हजार नगद राशीसहित मेडल र प्रमाणपत्रले सम्मान गरिने आयोजकले जनाएको छ ।
उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी र उदयमान खेलाडीलाई समेत विशेष पुरस्कारसहित मेडल र प्रमाणपत्रले सम्मान गरिने बताए । प्रतियोगितामा टप ८ मा पर्न सफल टिमलाई विशेष पुरस्कारको व्यवस्था गरिने गरिएको छ । प्रतियोगितामा १ सय २८ जना खेलाडीहरुको सहभागिता रहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij