
अध्यक्षमा शर्मा निर्वाचित
शनिवार , पौष ३, २०७८
बुटवल, ३ पुस ।
निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) रुपन्देहीले स्थानीय तहमा मजबुत रुपमा स्थापित हुन सफल भएको दावी गरेको छ । संघीय संरचना अनुसार स्थानीय तहमा स्थापित हुँदै प्याब्सन मजबुत बनेको बताएको छ ।
प्याब्सन रुपन्देहीको १२ औं साधारणसभा तथा १५ औं अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले शिक्षा क्षेत्रमा संस्थागत विद्यालयको महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले संस्थागत विद्यालय स्थानीय तहमा औपचारिक रुपमा स्थापित हुँदै मजबुत बन्दै गएको बताए । उनले सरकारले शिक्षा क्षेत्रमा गर्ने अनुचित निर्णयलाई फिर्ता लिन बाध्य बनाउन प्याब्सन सफल हुनु नै प्याब्सनको शक्ति भएको दावी गरे ।
प्याब्सनका प्राज्ञिक सल्लाहकार लोकनाथ उपाध्यायले संस्थागत विद्यालय आफ्नो खुट्टामा आफै उभिन सक्षम रहेको दावी गरे । उनले संघर्ष र मिहिनेतबाट नै सफल हुन सकिने बताउँदै उत्कृष्ट र गुणस्तरीय शिक्षा विद्यार्थीलाई दिनुपर्नेमा जोड दिए । अबको शिक्षा नीति, पद्दतिको सुधार हुन आवश्यकता रहेको उपाध्यायले बताउँदै शिक्षण पद्दतिमा आईटीको प्रयोग हुन जरुरी रहेको बताए ।
प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थीले सरकारले निजी शिक्षामैत्री शिक्षा ऐन आउन ढिलाई भएको गुनासो पोखे । उनले प्याब्सनको पहलमा नीजि विद्यालयलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको दावी गरे ।
राष्ट्रिय परीक्षा बोर्ड प्रदेशका उपसचिव रमाकान्त तिवारीले संस्थागत विद्यालयले कसरी उत्कृष्ट शिक्षा दिन्छ भनेर सामुदायिक विद्यालयले सिक्दै गरेको बताए ।
त्यस्तै लुम्बिनी विश्वविद्यालयका उकेशराज उजुले निजी विद्यालयको शिक्षालाई विदेशमा भिषा लाग्ने शिक्षा रुपमा हेरिने दृष्टिकोणलाई परिवर्तन गरिनुपर्ने बताए ।
प्याब्सन रुपन्देहीले अधिवेशनको अवसरमा लेखक हरि ज्ञवाली, उत्कृष्ट नगरपालिकामा देवदहका बोद्धराज गौडल, प्रेसिडेन्ट अवार्डमा लक्ष्मण ज्ञवाली, कुशलराज शर्मा, भोजराज पौड्याल, भरत गिरी लगायतलाई सम्मान गरेको थियो ।
त्यस्तै अधिवेशनमा सचिवबाहेक सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ । अध्यक्षमा अनन्तराम शर्मा निर्वाचित भएका छन । त्यस्तै वरिष्ठ उपाध्यक्षमा एकनारायण काफ्ले, उपाध्यक्षमा कुलराज शर्मा, लक्ष्मण ज्ञवाली निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
त्यसै गरी सचिवमा दिपक खनाल र कपिलमणी ढकालको उम्मेदवारी परेपछि मतदान हुने भएको छ । कोषाध्यक्षमा भोजराज पौड्याल, सह–सचिवमा बोधराल गौडेल, हरी ज्ञवाली र सह–कोषाध्यक्षमा कमल प्रसाद पौड्याल निर्वाचित भएका छन । त्यस्तै सदस्यमा चन्द्रिका राई, प्रतिष्ठा चालिसे, मणिरन्त भण्डारी, महेश पराजुली र शंकर प्रसाद भट्टराई निर्वाचित भएका छन् । त्यस्तै लेखा समितिको संयोजकमा उमापति न्यौपाने र सदस्यमा नर बहादुर क्षेत्री चयन भएका छन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij