
शुक्रवार , पौष २, २०७८
बुटवल, २ पुस ।
राज्यद्वारा प्रदान गरिने ४५ प्रतिशत आरक्षण तथा र ५५ प्रतिशत खुल्ला छात्रवृत्तिमा निजी विद्यालयका विद्यार्थीलाई वञ्चित गर्नु असंवैधानिक र आपत्तिजनक भएको निजी विद्यालयहरुको छाता संस्था प्याब्सन रुपन्देहीले गुनासो गरेको छ । शुक्रबार तिलोत्तमामा पत्रकार सम्मेलन गरी प्याब्सनले सरकारले संविधानले व्यवस्था गरेको समानता र मौलिक हकविरूद्धको काम गरेर निजी विद्यालयमा पढेका निर्दोष विद्यार्थीको बालअधिकार हनन् गरेको भन्दै समान व्यवहारको नीति बनाउन माग गरेको छ ।
‘निजी विद्यालयलाई कक्षा १० सम्म लक्षित समुदायका १० प्रतिशत विद्यार्थीलाई निशुल्क छात्रवृत्तिमा पढाउन सरकारले अनिवार्य गरेको छ, तर तिनै विद्यार्थीलाई उच्च शिक्षामा आरक्षणबाट वञ्चित गर्नु सरकारको विभेदपूर्ण र विरोधाभासपूर्ण नीति हो’–प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले भने, ‘सरकारको यो विभेदको विरुद्ध प्याब्सनले कानूनी लडाई लडेको छ, फैसलाले न्याय दिने विश्वास छ ।’ सरकारको अवैज्ञानिक नीतिका कारण आरक्षण कोटामा सामुदायिक विद्यालयका विद्यार्थीको संख्या अपुग हुने तर निजीका विद्यार्थी प्रतिष्पर्धामा भाग लिन नपाई कोटा खेर जाने गरेको पौडेलले बताए ।
सरकारले संस्थागत विद्यालयलाई सौतेलो व्यवहार गरे पनि तिनै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले नै मुलुकको शैक्षिक गुणस्तर माथि उठाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल सावित भएको प्याब्सनको दावी छ ।
नेपालमा सञ्चालित झण्डै १० हजार निजी विद्यालयमा करिब ६ खर्ब लगानी भएको र २५ लाख ५० हजार विद्यार्थीहरू अध्ययनरत रहेको तथ्यांक छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको (२०१९–२०)को प्रतिवेदन अनुसार नेपालमा प्राथमिक तहदेखि माध्यमिक तहसम्ममा सामुदायिक र संस्थागत गरी कुल ८१ लाख २७ हजार १ सय ८३ जना विद्यार्थी अध्ययनरत छन् । जसमध्ये संस्थागत विद्यालयमा २५ लाख ४४ हजार २५ जना (लगभग ३१ प्रतिशत ) र सामुदायिक विद्यालयमा ५५ लाख ८३ हजार १ सय ५८ जना (लगभग ६९ प्रतिशत) रहेको उल्लेख छ । संस्थागत विद्यालयमा करिब २ लाख ५० हजार शिक्षक कर्मचारी कार्यरत छन् । उनीहरूमा आश्रित जनसंख्या करिव १२ लाख रहेको छ ।
कोरोनाले बन्द भए ५ विद्यालय
रूपन्देहीमा करिब २ सय ५० निजी विद्यालय सञ्चालनमा रहेकामा कोभिड–१९ का कारणले विद्यार्थी भर्ना नभएपछि जिल्लाका ५ वटा विद्यालय बन्द हुन पुगेको प्याब्सन रुपन्देही सचिव लक्ष्मण ज्ञवालीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij