
बिहिवार , आश्विन २२, २०७७
परासी, २२ असोज ।
रामग्राम नगरपालिकाले आफनो नगरभित्रका मिष्ठान भण्डारहरुको अनुगमन गरेको छ । लामो समयको लकडाउन पश्चात बजार खुलेपछि नगरपालिकाले खाद्यवस्तुको गुणस्तर र पसलहरुको नियमनमा ध्यान पु¥याउँदै बिहीबार बजारका करिब २ दर्जन मिठाई पसलहरुको अनुगमन गरेको हो ।
चाडपर्व नजिकिदै जाँदा खाद्यवस्तुको गुणस्तरमा सुधार गर्न, उचित मुल्य कायम गराउन, पसलहरुको सरसफाईतिर ध्यानाकर्षण गराउन, कालोबजारी र दर्ता प्रक्रियालाई नियमन गर्ने उद्देश्यले फरक–फरक दिन एक÷एक प्रकारका पसलहरुको अुनगमन गरिरहेको छ जसमध्ये बिहीबार मिठाइ पसलहरुको अनुगमन गरेको हो ।
रामग्राम नगरपालिकाको आर्थिक विकास शाखाका शाखा प्रमुख निर्मला पोख्रेलको संयोजकत्वमा बजार अनुगमन समितिले परासी बजार, मन्झरिया चोक र हकुई चोकका करिब २ दर्जन मिठाइ पसलहरुको अनुगमन गरेको हो । अनुगमनमा पुगेको अनुगमन समितिले परासीका लक्ष्मी मिष्ठान, रिद्दिसिद्ध, माखन भोग, पण्डित र रजा मिष्ठान लगायत करिब २ दर्जन मिष्ठानहरुको अनुगमन गरेको हो ।
अनुगमन समितिले अनुगमको क्रममा मन्झरियाको एक मिठाइ पसलको मन्सुर मिठाइमा ढुसी लागेको पाएपछि नष्ट गराएको थियो भने हकुईका दुई मिठाई पसलको लड्डुमा ढुसी लागेको पाएपछि नष्ट गराएको अनुगमन समितिले जानकारी दिएको छ ।
त्यस्तै परासीका दुई मिठाई पसलको जेरी, रसभरिमा हाल्ने रसमा किरा र झिंगा भेटिएपछि त्यसलाई पनि खन्याएर नष्ट गर्दै आगामी दिनमा यस्तो भेटिएमा कडा कार्वाही गर्ने चेतावनी सहित मिठाइको गुणस्तर र सरसफाइमा ध्यान दिन समितिले पसलहरुलाई सुझाएको थियो ।
अनुगमन समितिले अनुगमन गर्दा अधिकांश पसल दर्ता नरहेको र दर्ता रहेका पसलहरुमध्ये अधिकांश नवीकरण नरहेको पाइएको थियो । अधिकांश मिठाई पसलको किचन, फ्रिज, काउण्टर र बस्ने टेबल, कुर्ची र ठाउँहरु फोहोर भेटिएको थियो ।
नगरपालिकाको आर्थिक विकास शाखाका शाखा प्रमुख निर्मला पोख्रेलको संयोजकत्वमा जिल्ला प्रशासन कायौलयका प्रतिनिधि पोष्टराज ज्ञवाली, नेपाल प्रहरीका प्रहरी प्रतिनिधि, उद्योग वाणिज्य संघका महासचिव गिरीराज पाण्डे, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य हुसैन अंसारी, उपभोक्ता हकहित संरक्षण मन्च रामग्राम नगरका अध्यक्ष यम कुमारी सुवेदीको टोलीले मिठाइ पसलहरुको अनुगमन गरेको थियो ।
समितिले दर्ता नरहेको पसललाई शिघ्र दर्ता गराउन, दर्ता रहेकालाई नवीकरण गराउन र सरसफाइमा ध्यान दिन निर्देशन दिएको थियो । आगामी दिनमा अरु प्रकारका पसलहरुको पनि क्रमश : अनुगमन गरिने समितिले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij