२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

राष्ट्रिय क्रिकेट टोलीका चार खेलाडी कारवाहीमा. नयाँ कप्तानको जिम्मेवारी सन्दीपलाई

बिहिवार , पौष १, २०७८

काठमाडौं, १ पुस ।
नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त गरेको छ । क्यानको बुधबार बसेको बोर्ड बैठकले नियमित कप्तान ज्ञानेन्द्र मल्लको स्थानमा सन्दीपलाई नियुक्त गरेको हो । 

क्यानले नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको छ । क्यानको अनुशासन उल्लंघनसम्बन्धी गठन गरेको छानबिन समितिले सिफारिस गरेबमोजिम खेलाडी आचारसंहिता उल्लंघन गरेको भन्दै क्यानले उनीहरूलाई सन् २०२२ को सेन्ट्रल कन्ट्रयाकमा सुरुआती छ महिना सहभागी नगराउने निर्णय समेत लिएको छ । ज्ञानेन्द्र सन् २०१९ मा नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त भएका थिए ।

सन्दीपले नेपाली यु १९ राष्ट्रिय टोली हुँदै दुई फ्रेन्चाइज लिग एभरेष्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौँ किंग्स इलेभेन र पोखरा प्रिमियर लिग (पिपिएल) मा विराटनगर किंग्सको कप्तानी गरिसकेका छन् । त्यस्तै उनले  इन्डियन प्रिमियर लिग (आइपिएल) देखि बिग ब्यास लिगसम्म खेलिसकेका छन् । 

खेलाडीको वर्गीकरण वैज्ञानिक र व्यावहारिक नभएको भन्दै ज्ञानेन्द्र मल्लसहित केही वरिष्ठ खेलाडीको गुनासो रहेको थियो । सोही विषयलाई लिएर क्यानले खेलाडीसँग स्पष्टीकरण समेत सोधेको थियो । खेलाडीको स्पष्टीकरण चित्तबुझ्दो नभएको र खेलाडीले आचारसंहिता उल्लंघन गरेको भन्दै क्यानले खेलाडीलाई कारवाही गरेको हो ।

त्यसै गरी क्यानले राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आगामी पुस ६ गतेदेखि पोखरामा सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले नेपाल प्रशिक्षक संघलाई मान्यता प्रदान गर्ने र क्यानका पूर्वउपाध्यक्ष नरेश श्रेष्ठलाई सल्लाहकार समितिको सदस्यमा चयन गर्ने निर्णय समेत गरेको छ । रासस