भैरहवा । प्युठान स्याउलीबाङ–१ की चित्रकली बुढामगर राजनीतिक दलका महाधिवेशन स्थलतिर व्यस्त छन्। बुढामगर पार्टीको काममा लागि भने महाधिवेशन स्थलतिर गएकी होइनन्। उनी त आफ्नो उत्पादन प्रबद्र्धनका लागि महाधिवेशनमा गएकी हुन्।
कोठे हिमाल अल्लो कपडा उद्योगकी सञ्चालक बुढामगरलाई अहिले भ्याइनभ्याइ छ। अल्लो कपडाको विक्री प्रबद्र्धन गर्नका लागि उनी महाधिवेशन स्थलमा पुग्ने गरेकी हुन्। कपडा बेच्ने ठाउँमा उनलाई कसैसंग बोल्ने फुर्सद छैन्। कोभिड–१९ का कारण व्यापार÷व्यवसाय प्रभावित भएपछि उनी अहिले जहाँजहाँ अधिवेशन, महाधिवेशन तथा ठूलाठूला सभा/सम्मेलन हुन्छन्, त्यतै पुगेर व्यापार गर्ने गर्ने गरेकी छन्।
यति बेला मुलुक महाधिवेशनमय बनेको छ। ठूलो संख्यामा मानिसको सहभागिता हुने भएकाले म पनि आफ्ना उत्पादन लिएर महाधिवेशन भएको स्थानमा पुग्ने गरेकी छु, बुढामगरले भनिन्, ‘कोभिडका कारण थलिएको व्यापार अहिले केही फस्टाएको छ।’ उनी यो भन्दा पहिले मेला तथा महोत्सवमा जाने गर्थिन्। महोत्सवहरुमा आफ्नो उद्योगका उत्पादनहरुलाई स्टलमार्फत विक्रीवितरण गर्ने गर्दथे उनले भनिन्, ‘कोभिडका कारण महोत्सवहरु बन्द भएपछि अहिले अधिवेशनहरुमा गएर विक्री गर्ने गरेकी छु।
‘महोत्सवहरु बन्द भएपछि आफूहरुको कारोबार पनि बन्द भयो, यसको असर हाम्रा कामदारमा देखिन थाल्यो, बुढामगर भन्छिन, ‘उद्योगमा काम गर्ने कामदारको रोजीरोटी गुम्ने अवस्था आएपछि अल्लोका कपडाको विक्री प्रबद्र्धनका लागि महाधिवेशनस्थल रोजेकी हु। नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम अधिवेशनस्थल भैरहवास्थित महेन्द्र सभागृह अगाडि भेटिएकी उनले पछिल्लो समय अल्लोको उत्पादनप्रति आम मानिसको आकर्षण बढेको बताइन्।
कांग्रेसको अधिवेशन भन्दा पहिला उनी नेकपा (एमाले) को १० औं महाधिवेशन स्थल चितवनमा थिइन्। उनले चितवनमा राम्रो व्यापार गरेको बताइन्। कोभिडका कारण बन्द भएको बेलामा जंगलमा खेर गइरहेको चाल्ने सिस्नो (अल्लो) कच्चापदार्थ संकलन गररेर धागो उत्पादन गरेर त्यसबाट कपडा उत्पादन गरेर अहिले विक्री गरेका हौ, उनले भनिन, ‘पहिले पहिले अल्लोको कपडाको व्यापार गर्न निकै ग्राहो थियो, अहिले भने विस्तारै यसको माग बढेको छ। र्हेर्दा खासै रामो नदेखिए पनि यसका गुण धेरै भएकाले अल्लोका कपडा लगाउनेहरु बढेका छन्। अल्लोका कपडा हेर्दा बोरा जस्तो देखिने भएकाले पहिले यसको सामान कटाउन निकै ग्राहो भएको बुढामगरको भनाइ छ।
नेपालीहरुमा विस्तारै विस्तारै स्वदेशी उत्पादनको उपभोग गर्नुपर्छ भन्ने भावना विकास भएसंगै अहिले सबैले अल्लोको कपडा खोजी खोजी लगाउने गरेको उनको भनाइ छ। स्वदेशी उत्पादनको विकाससंगै स्थानीय उत्पादन उपभोग गर्नुपर्छ भन्ने मान्यता गाँउमा भन्दा शहरमा बढेर गएको भन्दै उनले खुसी व्यक्त गरिन्। आज भोलि सरकारी तथा गैरसरकारी कार्यालयहरुले अल्लोको सामानलाई मायाको चिनोको रुपमा प्रयोग गर्ने गरेको उनी बताउँछिन्। प्युठान जिल्लाको नौबहिनी गाउँपालिकाका ४५ जना प्रतिनिधिहरुले पोशाक (ड्रेस) को रुपमा कोट लगाएर अल्लोको उत्दानलाई प्रोत्साहन गर्ने गरेको बताइन्। यसले आफुहरुलाई काममा थप हौसला मिलेको उनको भनाइ छ।
हेर्दा बोरा जस्तो देखिने गुणकारी अल्लो समुद्र सतहदेखि १२ सय देखी ३ हजार उचाईमा पाइने गर्दछ। यसबाट कोट, आस्कोट, जुवारीकोट, टोपी, बेल्ट, झोला, पर्स जस्ता थुप्रै सामान उत्पादन हुने गरेको छ। अल्लोको प्रयोगले जाबे, प्रेसर, सुगर जस्ता रोगको पनि निको हुने गरेको उनको भनाइ छ।
उनले उत्पादन गरेका सामानहरु ५० रुपैया देखि ९ हजारसम्मका छन्। उनलाई उनका श्रीमानले सहयोग गरेका छन्। २०६३ सालमा कोठे हिमालको नाममा उद्योग दर्ता गरी गुणस्तर चिन्ह प्रयोग गरी अल्लोको उत्पादन सुरु गर्दा भारत तथा चीनबाट आउने हेर्दा अल्लो जस्तै देखिने वस्तुको सामानले केही समय व्यापार प्रबद्र्धनमा समस्या आएको उनको भनाइ छ। ४ सय देखि ६ सयसम्म विक्री भएको उक्त सामग्रीले आफूहरुलाई समस्यामा पारेको उनले बताइन्। यसले उपभोक्तालाई दुविधामा पारेको उनको गुनासो छ।
आफ्नै देशमा पाइने कच्चापदार्थ उत्पादन हुने सामान बाहिरबाट किनेर स्वदेशी पैसा विदेशमा पठाउनु भन्दा दुई चार पैसा मंहगो परे पनि गुणस्तरीय र स्वदेशी उत्पादन गर्नुपर्नेमा उनको जोड छ। सुरुमा आफू एक्लै होमिएर सानो पुर्खौली पेशाबाट अहिले उनले १५ जनालाई प्रत्यक्ष र हजारौ जनालाई अप्रत्यक्ष रुपमाा रोजगारी दिदै आएको बताइन्।
पहिले जंगलमा भएको सिस्नोलाई ल्याएर धागो बनाउने गरेको र अहिले माग बढेसंगै सिस्नोको खेती नै गरेको बुढामगरको भनाई छ। अहिले अल्लाका उत्पादनको माग विदेशबाट पनि आएको उनको भनाइ छ। स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै कोरिया टेक्निकल कलेज र पोखरा विश्वविद्यालयले दुईवटा मेसिन पनि कोठे हिमाल उद्योगलाई प्रदान गरेको थियो।