२०८२, कार्तिक १७ गते

Nov 03 2025 | २०८२, कार्तिक १७ गते

रुपन्देहीको रक्त सञ्चार केन्द्रमा ‘बी’ र ‘ओ’ पोजिटिभ रगतको अभाव, रक्तदान गर्न आग्रह

सोमवार , कार्तिक १७, २०८२

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, १७ कार्तिक । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा अन्तर्गतका रक्त सञ्चार केन्द्र (ब्लड बैंक) हरुमा रगतको अभाव देखिएको छ ।

    ब्लड बैंकमा हाल ओ पोजिटिभ र बी पोजिटिभ ब्लडको अभाव देखिएको रेडक्रस जिल्ला उपसभापति तथा रक्त सञ्चार सेवा समिति, रुपन्देहीका संयोजक सुशील गुरुङ्गले बताउनुभयो । उहाँले यस रगत समूहका रक्तदाताहरुलाई यथाशिघ्र नजिकका ब्लड बैंकहरुमा गइ रक्तदान गरी रगतको आपूर्तिमा सहजताका लागि अनुरोध गर्नुभयो ।

    ‘दशैं, तिहार, छठ  लगायत चाडपर्वको समयमा रक्तदान कार्यक्रमहरु धेरै हुन पाएनन्, त्यसकारणले पनि अभाव भएको छ । विशेष गरी बुटवल क्षेत्रमा यी दुई समूहका रगतको अभाव देखिएपछि हामीले रक्तदान गर्न सार्वजनिक रुपमा आह्वान गरेका छौं, ’उहाँले भन्नुभयो ।

    तीन महिनामा त्यसै पनि खेर जाने भएकाले रगत स्वस्थ व्यक्तिलाई रक्तदान गर्न आग्रह गर्दै उहाँले रक्तदान गर्नु पुण्यको काम भएको गुरुङ्गले बताउनुभयो । गुरुङ्गका अनुसार भैरहवा र बुटवल क्षेत्रका नियमित रक्तदातालाई मोबाइलमा एसएमएसमार्फत पनि रक्तदान गर्न आह्वान गरिएको छ ।

    ‘रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसाथ गरी बिरामीहरुलाई सरल र सहज तरिकाले रगत उपलब्ध गराउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा अन्तर्गत ब्लड बैंकहरु सञ्चालित रहेको रक्त सञ्चार सेवा रिर्पोटिङ्ग, डाटावेस, विश्लेषण तथा अनुगमन शाखा प्रमुख बसुन्धरा गौतमले बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका जिल्ला सदस्य केशव उपाध्यायले हाल ओ पोजिटिभ र बी पोजिटिभ ब्लडको अभाव देखिएको रक्तदाताहरुलाई रक्तदान गर्न आग्रह गर्नुभयो ।

    नेपाल नियमित रक्तदाता संघ सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष यादव प्रसाद आचार्य (वाई.पी.) ले बिरामीलाई आवश्यक परेको अवस्थामा रक्तदाताहरु तत्काल रक्तदान गर्न तयार रहेको बताउनुभयो । ‘रगतको अभाव हुन नदिन हामी आफ्नोतर्फबाट निर्वाह गर्नुपर्ने भूमिका लागि तयारी अवस्थामा छौं,’ आचार्यले भन्नुभयो ।