२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

बेनी, तिलोत्तमा, बुटवल र विरेन्द्रनगर विजयी 

बिहिवार , मंसिर २३, २०७८

बुटवल, २३ मंसिर ।
बुटवल उपमहानगरपालिका उपमेयर कप अन्तर पालिकास्तरीय राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०७८ मा बेनी, तिलोत्तमा, बुटवल र विरेन्द्रनगरले विजयी सुरुवात गरेको छ । देवीनगरस्थित कदर बहादुर रीता रायमाझी आद्योगिक माविमा भएको प्रतियोगितामा बेनी नगरपालिका, म्याग्दीले भिमदत्त नगरपालिका कञ्चनपुरमाथि २–० को सोझो सेटमा पराजित गरेको हो । त्यसै गरी दोस्रो खेलमा तिलोत्तमा नगरपालिकाले कोहलपुर नगरपालिकालाई २५–३, २५–७ अंकको सेटमा पराजित गर्दै स्पष्ट जित निकालेको छ । 

अर्को खेलमा आयोजक बुटवल उपमहानगरले गोदाबरी नगरपालिकालाई २५–१८, २५–४ को सोझो सेटमा पराजित गरेको छ । त्यसै गरी विरेन्द्रनगर नगरपालिका, सुर्खेतले टिकापुर नगरपालिकामाथि २–१ को जित निकालेको छ । पहिलो सेटमा टिकापुरले २५–२३ को अग्रता लिएको थियो । दोस्रो र तेस्रो सेटमा खेलमा फर्कदै बिरेन्द्रनगर १३–२५, ११–१५ को अंकले जित निकाल्न सफल भयो । 

प्रतियोगिताको एक समारोहकाबीच बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले उद्घाटन गर्दै खेलको विकाससंगै युवा वर्गको विकास हुने बताइन् । नगर खेलकुद परिषदको स्थापना गरी बुटवलमा पूर्वाधार विकाससंगै विभिन्न खेलका प्रतियोगिता सञ्चालनमा जोड दिएको उनले बताइन् । मानव जिवनलाई स्वस्थ राख्न मात्र नभई युवा खेलाडी उत्पादनमा जोड दिने रुपमा खेदकुद आवश्यक रहेको उनले बताइन् । एक वडा एक खेलमैदानको अवधारणा अघि बढाएर पूर्वाधारमा जोड दिएको उनले बताइन् । 

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । त्यसै गरी उपविजेता टिमले नगद ७५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र, तृतीय टिमले नगद ३५ हजार रुपैया तथा चौथौ टिमलाई १५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक अर्जुन घिमिरेले बताए । लिग कम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा आयोजक बुटवल उपमहानगरपालिकासहित भिमदत्त नगरपालिका महेन्द्रनगर, टिकापुर नगरपालिका कैलाली, कोहलपुर नगरपालिका, विरेन्द्रनगर नगरपालिका सुर्खेत, तिलोत्तमा नगरपालिका, बेनी नगरपालिका म्याग्दी, पोखरा महानगरपालिका, सैनामैना नगरपालिका, वाणगंगा नगरपालिका गरी १० टिमले भाग लिएको उनले बताए । प्रतियोगिता ३ दिनसम्म चल्ने उनले बताए ।

बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको अध्यक्ष नन्दु काउचाले युवा  खेलाडीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित प्रतियोगिता गरिएको बताए । 

कार्यक्रममा मदनभण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय उपाध्यक्ष ध्रुव आचार्य, जिल्ला सल्लाहकार पुरन गुरुङ, जिल्ला खेलकुद परिषदका अध्यक्ष मनोज गौचन, जिल्ला भलिबल संघका उपाध्यक्ष सुरेन्द्र शाक्य, प्रदेश सदस्य कृष्ण कुमाल, राप्रपाका नेता निरज प्रताप खाँण, नेपाली कांग्रेस बुटवल नगर उपसभापति ज्योति भण्डारी, नगर खेलकुद विकास परिषदका सदस्य सचिव कोपिला ज्ञवाली, सदस्य प्रेम बहादुर बस्नेत, नबिन सारु मगरले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए ।