२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

बुटवलमा विकास निर्माणसम्बन्धी काममा ढिलासुस्ती, समस्या समाधानमा सरकारको उदासिनता

बुधवार , मंसिर २२, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा, २२ मंसिर ।
    विगत केही समयदेखि रुपन्देहीको बुटवल उपमहानगरपालिकाभित्र विकास निर्माणसम्बन्धी काममा ढिलासुस्ती भएको यहाँस्थित २० वटा संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले गुनासो गरेका छन् । उनीहरुले यस क्षेत्रमा रहेका समस्या छिटोछरितो समाधानमा संघीय, प्रदेश र स्थानीय सरकार उदासिन देखिएको बताएका छन् । 

    बुटवल राजमार्ग चौराहदेखि गोलपार्कसम्मको ६ किलोमिटर सडकको दुर्दशा, लामो समयदेखिको झुम्साको खानेपानी बुटवल ल्याउने योजना र चुरे पहाडको पहिरोले ज्योतीनगर, लक्ष्मीनगर, आदर्शनगर, जितगढी लगायतको क्षेत्रमा पारेको असरका सम्बन्धमा तीनै तहको सरकार समस्या समाधानमा उदासिन देखिएको नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले बताए । बुटवल उपमहानगरपालिकाभित्र रहेको २० वटा संघ–संस्थाहरुको मंसिर २१ गते बैठक बसी बुटवलका विकास निर्माणसम्बन्धी कामलाई यथाशिघ्र सम्पन्न गरी बुटवलवासीको समस्या समाधानका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने निर्णय गरिएको नेपालले बताए । 

    सोही अनुसार संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिहरुले बुटवलका समस्या समाधान गर्न माग गर्दै बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाइएको जिफन्ट राष्ट्रिय कमिटीका उपाध्यक्ष कमल गौतमले बताए ।

    उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष समुन्द्र जि.सी.ले सडक निर्माण समयमै नहुँदा नागरिकले सास्ती खेप्नुपरेकोले यथाशिघ्र प्रशासन कार्यालयले समस्या समाधानका लागि पहल गर्नुपर्ने बताए । 

    औषधी व्यवसायी संघका अध्यक्ष सुरज भट्टराईले बुटवलको समस्या समाधानका लागि आवश्यक पहल गरिदिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरे । संघ–संस्थाले गराएको यो ध्यानाकर्षणलाई वेवास्ता गरिए अरु थप सशक्त दबाबमुलक कार्यक्रम गर्न बाध्य हुने उनीहरुको चेतावनी छ ।

    ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले सडक निर्माणसम्बन्धमा सम्बन्धित ठेकेदार कम्पनीलाई बोलाएर आवश्यक निर्देशन दिइने बताए । उनले संघ–संस्थाले बुझाएको ध्यानाकर्षण पत्रबारे प्रशासन कार्यालयले गम्भिर रुपमा लिएको बताए ।