२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

रुपन्देहीमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सर्तकता

मंगलवार , मंसिर २१, २०७८

रुपन्देही, २१ मंसिर ।

रुपन्देहीको सीमा क्षेत्रमा कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण भित्रिन नदिन उच्च सर्तकता अपनाइएको छ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अध्यक्षतामा बसेको जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले सो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए ।

उनले बढी आवतजावत हुने जिल्लाको बेलहिया नाका लगायतका अन्य विभिन्न नाकामा पनि उच्च सर्तकता अपनाउन सम्बन्धित पालिकालाई पत्राचार गरिएको समेत जानकारी दिए । ‘विदेशी नागरिकको निगरानी गर्नुका साथै, जाँचलाई कडाइ गर्न र सचतेना फैलाउने काम गर्ने विषयलाई ध्यान दिइएको छ’ उनले भने ।

बेलहिया नाकाबाट भारतलगायत, अष्ट्रेलिया, नेदरल्याण्ड, चीन लगायतका मुलुकबाट पर्यटक नेपाल भित्रिने गर्छन्। स्वास्थ्य कार्यालयका प्रमुख राजेन्द्र गिरीले सीमा क्षेत्रमा मास्क र सेनिटाइजरको प्रयोगलाई कडाइ गर्दै खोपको मात्रा पूरा भएको वा नभएको समेत निगरानीमा राख्न र शंकाष्पद भए ‘रेपिड एन्टिजोन टेष्ट’ गर्न निर्देशन दिइएको जानकारी दिए ।

उनले जनजीवनलाई सामान्य गर्दै विदेशी पर्यटकलाई लक्षित गरेर सचेतना अपनाउने विषयलाई प्राथमिकता दिइएको उल्लेख गर्दै बुटवल उपमहानगरपालिका, तिलोत्तमा र देवदह नगरपालिका, ओमसतिया र रोहिणी गाउँपालिकामा १८ वर्ष उमेर माथिकालाई खोपको दुई मात्रा दिइएको बताए ।

उनले जिल्लाका अन्य ११ पालिकामा पनि आजबाट नै खोपाको दुई मात्रा दिइने जानकारी दिँदै अहिलेसम्म रुपन्देहीमा खोपको पहिलो डोज लगाउने ६० प्रतिशत र दोस्रो डोज लगाउने ५० प्रतिशत भएको बताए ।

सीमा क्षेत्रमा शङ्कास्पद भेटिएको नागरिकमा रेपिड एन्टिजेन टेष्ट पोजेटिभ देखिए प्रदेश जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय प्रयोगशालाको समन्वयमा उपचार गरिने बताइएको छ ।

ओमिक्रोनलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले भेरियन्ट अफ कन्सर्नको सूचीमा राखेको छ । जिल्लामा अहिलेसम्म कोभिड–१९ बाट ५५८ को मृत्यु भएको कार्यालयले जनाएको छ । रासस