सोमवार , आश्विन २६, २०८३
भैरहवा, २६ असोज । क्षेत्री समाज नेपाल सिद्धार्थनगर भैरहवाले क्षेत्री दिवस मनाएको छ । समाजले घटस्थापनाका दिन भैरहवामा र्याली तथा अन्तरक्रिया गरी क्षेत्री दिवस सम्पन्न गरेको हो ।
क्षेत्री समाज सिद्धार्थनगरको आयोजनामा भैरहवाको लुम्बिनीरोडदेखि सुरु भएको र्याली बर्मेलीटोल, नारायणस्थान हुँदै बैंककलोनी दुुर्गा मन्दिरमा पुुगेर समापन भएको थियो ।
क्षेत्रीहरुले घटस्थापनालाई स्थापना दिवसको रुपमा मनाउँदै आएका छन् । घटस्थापनालाई क्षेत्री दिवसका रूपमा मनाउनु भनेको शक्ति र वीरताको पर्व दशैंको सुरुवातसँगै आफ्नो ऐतिहासिक पहिचान, संस्कृति र सामाजिक एकतालाई उत्सवका रूपमा रहेको क्षेत्री समाजका अगुवा शेरजंग बहादुर बस्नेतले बताउनुभयो ।
क्षेत्री समाज सिद्धार्थनगरका अध्यक्ष राजेन्द्र थापाले भैरहवा नगरमा छरिएर रहेका क्षेत्री समुदायका सबैलाई एकीकृत गर्दै क्षेत्री पोशाकमा नगर परिक्रमा गर्दै दुर्गा मन्दिरमा पूजापाठ र अन्तरक्रिया गरेर क्षेत्री दिवस मनाइएको बताउनुभयो।
दौरा–सुरावाल, कोट, पटुका र ढाकाटोपीमा सजिएका पुुरुषहरु र गुन्यू–चोली, पटुका, मखमली चोली र तिलहरी, नौगेडी, पोते जस्ता परम्परागत गरगहनाहरू पहिरिएका महिलाहरुले एउटा हातमा राष्ट्रिय झण्डा र अर्को हातमा क्षेत्री समाजको झण्डा लिएर सडकमा र्यालीमा निस्किएका थिए । सडकको दायाँबायाँ बसेर मानिसहरुले हात हल्लाउँदै गरेको दृश्य पनि रमाइलो देखिएको थियो ।
नेपालको आधुनिक इतिहास, राजनीतिक परिवर्तन र सामाजिक आन्दोलनहरूमा विशेष योगदान दिएको क्षेत्री जातिको पर्व र संस्कृति रक्षामा पनि लागिरहने क्रममा घटस्थापनाको दिन दिवस मनाएको समाजका पूर्वअध्यक्ष मिलन बस्नेतले बताउनुभयो ।

प्रागैतिहासिक कालदेखि नै सिञ्जा उपत्यकालाई केन्द्र बनाएर फस्टाएको क्षेत्री संस्कृति नै आजको आधुनिक नेपालको सांस्कृतिक, सामाजिक र भाषिक आधारशिला मान्ने गरिन्छ ।
क्षेत्री जातिभित्र विभिन्न गोत्र, प्रवर र हजारौं थरहरू रहेका छन् । जस्तै : थापा, बस्नेत, पाण्डे, कुँवर, खड्का, रावल, बोहरा, बिष्ट, बुढाथोकी, घर्ती, कार्की, खत्री क्षेत्री, भण्डारी, अधिकारी, रोकाया, खस कटवाल आदि रहेका छन् । २०७८ को राष्ट्रिय जनगणना अनुसार क्षेत्री नेपालको सबैभन्दा ठूलो जनसंख्या भएको जाति हो । कुल जनसंख्याको १६.४५ प्रतिशत हिस्सा क्षेत्री जातिले ओगटेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij