सोमवार , आश्विन २६, २०८३
बुटवल, २६ असोज । नेतृत्व पद वा जिम्मेवारी प्राप्त गर्नु मात्र होइन, समुदायका समस्या पहिचान गर्ने, आफ्ना सवालमा बोल्ने, विभेद र असमानताविरुद्ध आवाज उठाउने तथा सकारात्मक परिवर्तनका लागि अरूलाई समेत जोड्न सक्ने क्षमता हो । यही विश्वासका साथ रुपन्देहीको बुटवलमा सञ्चालन गरिएको महिला तथा युवाका लागि भावी नेतृत्व तथा कार्यकारी सशक्तीकरण फ्लीट तालिमले सहभागीहरूमा नेतृत्वप्रतिको बुझाइसँगै समुदायका सवाल उठाउन सक्ने आत्मविश्वास विकास गरेको छ ।
तीन दिनसम्म सञ्चालन भएको तालिममा १४ जना सैनामैना नगरपालिका र १२ जना कञ्चन गाउँपालिकाको गरी २६ जना फ्लीट लिडरहरूको सहभागीता रहेको थियो । सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजनामा सञ्चालित तालिममा सेन्टर फर इन्टरनेशनल स्टडिज एण्ड कोअपरेसन (सेसी) को आर्थिक सहयोग तथा प्रो–पब्लिकको प्राविधिक सहयोग रहेको थियो ।
तालिमका क्रममा सहभागीहरूले नेतृत्वको अवधारणा, महिला नेतृत्व, सामूहिक तथा रूपान्तरणकारी नेतृत्व, लैंगिक समानता तथा समता, सामाजिक समावेशीकरण, मानव अधिकार, विभेद र सामाजिक पूर्वाग्रह लगायतका विषयमा सिकाइ हासिल गरे । तर, तालिम केवल सैद्धान्तिक ज्ञानमा सीमित रहेन । सहभागीहरूले आफ्नै समुदायमा देखिएका समस्या, अवसर र चुनौतीलाई नेतृत्वसँग जोडेर छलफल गर्ने तथा समाधानका लागि पहल गर्ने अभ्याससमेत गरे ।
‘म दृष्टिविहीन भए पनि नेतृत्व गर्न सक्छु’
तालिममा सहभागी सैनामैना नगरपालिका–८, भड्र्छाका नाथु प्रसाद चौधरीका लागि तालिम एउटा नयाँ अनुभव बन्यो । दृष्टिविहीन भए पनि समुदायमा सक्रिय रहेका चौधरीले तालिमले आफ्नो क्षमता र नेतृत्वसम्बन्धी बुझाइलाई थप फराकिलो बनाएको बताउनुभयो । ‘नेतृत्व भनेको अगाडि उभिएर बोल्नु मात्र रहेनछ । समुदायका मानिसका समस्या सुन्ने, समस्या पहिचान गर्ने र समाधानका लागि पहल गर्ने जिम्मेवारी पनि नेतृत्व रहेछ,’उहाँले भन्नुभयो–‘म दृष्टिविहीन भए पनि नेतृत्व गर्न सक्छु भन्ने आत्मविश्वास तालिम पछि अझ बढेको छ । धेरै नयाँ ज्ञान र अनुभव हासिल गर्ने अवसर पाएँ ।’
उहाँका लागि तालिमले अपांगता भएका व्यक्तिले पनि नेतृत्व गर्न सक्छन् भन्ने आत्मविश्वास मात्र दिएन, आफ्नो समुदायका सवाललाई थप प्रभावकारी ढंगले उठाउने बाटोसमेत देखाइदिएको छ ।
‘महिलाले आफ्नै सवाल उठाउन सक्नुपर्छ’
सैनामैना नगरपालिका–६ झालाकी सरिता विकका लागि नेतृत्वमा महिलाको अर्थपूर्ण सहभागिता मुख्य सिकाइको विषय बन्यो । महिलाहरूले आफ्ना समस्या अरूले उठाइदिने प्रतीक्षा गर्नुभन्दा आफैं आफ्ना सवाल पहिचान गरी सम्बन्धित निकायसम्म पुर्याउन सक्नुपर्ने उहाँको धारणा छ । ‘महिलालाई नेतृत्वमा आउन आत्मविश्वास र अवसर दुवै आवश्यक रहेछ,’ उहाँले भन्नुभयो–‘तालिमबाट समुदायका समस्या पहिचान गर्ने, त्यसलाई प्राथमिकता दिने र सम्बन्धित निकायसँग पैरवी गर्ने व्यावहारिक ज्ञान प्राप्त भएको छ ।’
उहाँका अनुसार समुदायमा महिला त्यसमाथि दलित महिलाले भोगिरहेका समस्या धेरै भए पनि ती समस्यालाई व्यवस्थित रूपमा उठाउने र समाधानका लागि निरन्तर पैरवी गर्ने अभ्यास अझै कमजोर छ । फिलिट तालिमले त्यसका लागि आवश्यक आधार तयार गरेको उहाँको अनुभव छ ।
युवालाई अवसरसँगै जिम्मेवारी
सैनामैना नगरपालिका–५ का रेजीना कार्कीले युवाको नेतृत्व विकासका लागि अवसर सिर्जना गर्नुपर्ने बताउनुभयो । युवामा क्षमता र नयाँ सोच भए पनि निर्णय प्रक्रियामा उनीहरूको सहभागिता पर्याप्त हुन नसकेको उहाँको अनुभव छ । ‘युवालाई नेतृत्व गर्न अवसर दिनुपर्छ । अवसर पाए युवाले समुदायका धेरै समस्या नयाँ तरिकाले समाधान गर्न सक्छन्,’ उहाँले भन्नुभयो–‘तालिमबाट प्राप्त ज्ञान र सीपलाई अब समुदायमा व्यवहारमा प्रयोग गर्ने प्रतिबद्धता लिएको छु ।’ उहाँका अनुसार तालिम ज्ञान हासिल गर्ने कार्यक्रम मात्र नभइ आफ्नो आवाज पहिचान गर्ने र समुदायका सवालमा नेतृत्व लिन तयार हुने अभ्यास समेत बनेको छ ।
राजनीतिक अनुभवदेखि नेतृत्वका अवसर र चुनौतीसम्म
तालिमको दोस्रो दिन आयोजित प्यानल छलफल सहभागीहरूका लागि थप प्रेरणादायी रह्यो । छलफलमा कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा, सैनामैना नगरपालिकाका कार्यपालिका सदस्य मनकुमारी राई तथा स्वलम्बी महिला सशक्तीकरण केन्द्रका अध्यक्ष रजिता रेग्मी सहभागी हुनुहुन्थ्यो । प्यानल छलफलमा वक्ताहरूले आफ्नो राजनीतिक तथा सामाजिक अनुभव, नेतृत्वमा प्रवेश गर्दाका अवसर र चुनौती, स्थानीय तहमा महिलाको सहभागीता, युवाको भूमिका तथा समुदायबाट नेतृत्व विकास गर्ने प्रक्रियाबारे सहभागीहरूसँग अनुभव आदानप्रदान गरे ।
राजनीतिक तथा सामाजिक नेतृत्वमा आउँदा सामना गर्नुपर्ने चुनौतीसँगै उपलब्ध अवसर, निरन्तर सिकाइ, समुदायसँगको सम्बन्ध र जनताका सवाललाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने विषयमा सहभागीहरूबीच उत्प्रेरणात्मक छलफल गरिएको थियो । जनप्रतिनिधि तथा सामाजिक क्षेत्रमा सक्रिय नेतृत्वका वास्तविक अनुभव सुन्न पाउँदा सहभागीहरूले नेतृत्वमा आउनका लागि आवश्यक आत्मविश्वास, व्यवहारिक ज्ञान र चुनौती सामना गर्ने क्षमताबारे थप बुझ्ने अवसर पाए । प्यानल छलफलले सहभागीहरूलाई नेतृत्वका लागि अवसर खोज्ने मात्र होइन, आवश्यक परे आफैं अवसर सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिएको थियो ।
सिकाइलाई अभ्यासमा बदल्ने प्रयास
तालिमका प्रशिक्षक महेन्द्र खनालले मस्तिष्क मन्थन, समूहकार्य, अन्तरक्रिया र प्रस्तुतीकरणजस्ता सहभागीमुखी विधिबाट सहजीकरण गरेका थिए । सहभागीहरूले समूहमा छलफल गर्दै समुदायका सवाल पहिचान गर्ने, प्राथमिकता निर्धारण गर्ने र सम्बन्धित सरोकारवालासमक्ष ती सवाल कसरी प्रस्तुत गर्ने भन्ने अभ्यास गरे । तालिमको अन्तिम दिन प्रभावकारी वकालत, सन्देश निर्माण, सञ्चार तथा ‘एलिभेटर पिच’ सम्बन्धी व्यावहारिक अभ्यास गराइएको थियो।
सहभागीहरूले छोटो समयमा आफ्नो मुद्दा स्पष्ट रूपमा राख्ने, तथ्यमा आधारित सन्देश तयार गर्ने र समाधानमुखी ढंगले आफ्ना सवाल प्रस्तुत गर्ने सीप विकास गरे । यस क्रममा सहभागीहरूले आफूले उठाउन चाहेको समुदायको मुद्दालाई छोटो र प्रभावकारी सन्देशमा प्रस्तुत गर्ने अभ्याससमेत गरेका थिए । यसले उनीहरूलाई आगामी दिनमा स्थानीय तह, समुदाय तथा अन्य सरोकारवालासँग संवाद र पैरवी गर्न थप सहज हुने अपेक्षा गरिएको छ ।
तालिमपछि सुरु हुन्छ वास्तविक नेतृत्व
तीन दिनको तालिम सकिएसँगै सहभागीहरू आ–आफ्नो समुदायमा फर्किएका छन् । तर, उनीहरूका लागि तालिमको समापनसँगै वास्तविक नेतृत्वको यात्रा सुरु भएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्रका सचिव दुर्गा प्रसाद अर्याल कार्यक्रमको उद्घाटन गर्दै फिलिट लिडरहरु समुदायको आवज बन्नुपर्ने धारण राख्नुभएको थियो ।
त्यस्तै प्रदेश संयोजक कमला शुक्लाले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई समुदायका सवाल उठान, पैरवी तथा सकारात्मक परिवर्तनका लागि प्रयोग गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो । उहाँले प्रशिक्षक, सहभागी तथा तालिम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । तालिमले सहभागीहरूका सामु एउटा महत्वपूर्ण प्रश्न छाडेको छ–‘समुदायमा देखिएको समस्या कसले उठाउने ?’ यसको उत्तर अब उनीहरूको व्यवहार र नेतृत्वबाट खोजिनेछ । आफ्ना सवालमा बोल्ने, अरूका आवाज सुन्ने, समुदायका समस्या पहिचान गर्ने र समाधानका लागि सरोकारवालासँग संवाद तथा पैरवी गर्ने अभ्यासलाई निरन्तरता दिन सके फिलिट लिडरहरू समुदायस्तरबाटै नयाँ नेतृत्व निर्माण गर्ने महत्वपूर्ण आधार बन्न सक्छन् । किनभने नेतृत्वको सुरुवात सधैं ठूलो पदबाट हुँदैन । कहिलेकाहीँ नेतृत्वको पहिलो पाइला आफ्नै समुदायको एउटा सानो समस्या देखेर त्यसबारे आवाज उठाउने साहसबाट सुरु हुन्छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij