२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

एमाले अग्रगमनको बाधक : डा. बाबुराम भट्टराई

आइतवार , मंसिर १२, २०७८

बुटवल, १२ मंसिर ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अग्रगमनको बाधक शक्तिका रुपमा उदाएको बताएका छन् । जनता समाजवादी पार्टी रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले प्रतिनिधिसभा विघटनदेखि महाधिवेशनसम्म आइपुग्दा एमाले प्रतिगमनको नेतृत्व गर्ने दलको रुपमा स्थापित हुँदै गएको बताए । 

उनले मुलुकलाई राजनीतिक जटिलतातर्फ धकेलेर एमाले अध्यक्ष ओलीले प्रतिगमनको नेतृत्व गरिरहेको र चितवनमा जारी एमाले महाधिवेशनले त्यसलाई थप पुष्टि गरेको बताए । 

‘प्रतिगमनकारी शक्तिको नेतृत्व अहिले पनि केपी ओली र उनले नेतृत्व गरेको एमालेले गरिरहेको छ, उनले भने–हिजोका दरबारिया शक्ति र बाह्य शक्तिहरुको नेतृत्व ओलीले गरिरहेको अवस्था हो ।’ उनले पुराना राजनीतिक शक्तिले जनतामा वैचारिक भ्रम छर्ने काम गरेको र लोकतान्त्रिक मूल्य मान्यताहरु स्खलित हुँदै गएकोे बताए । 

‘मुलुकमा सामान्य लोकतान्त्रिक मूल्य मान्यता स्खलित हुँदै छन्, सत्ता स्वार्थलाई केन्द्रमा राखेर राजनीति गर्ने काम भयो, यसरी देशले निकास पाउँदैन, अदालतमा देखिएको संकट यसैको उदाहरण हो–अध्यक्ष भट्टराईले भने–पुराना राजनीतिक शक्तिले आफुना डम्फु बजाउदै हावाको बाल्कोनीमा बसेका छन्, यी शक्तिबाट मुलुकले निकास पाउँदैन, अब मुलुकमा नयाँ विचारसहितको शक्तिको आवश्यकता छ ।’

उनले नयाँ शक्तिको निर्माणका लागि जनता समाजवादी पार्टीले प्रयत्न गरिरहेको बताए । ‘समाजले जे जति अपेक्षा गरिरहेको छ, त्यसअनुसार हामीले चाहेजस्तो बनाउन सकिरहेको अवस्था छैन होला, तर हामी मुलुकमा रहेका विचारहरुका बीचबाट जनताले चाहेजस्तो शक्ति निर्माण गर्ने र जनताका मुद्दालाई प्रधान ठान्ने गरी प्रमुख शक्ति निर्माणको अभियानमै छौं,–उनले भने ।


उनले कम्युनिष्ट र कांग्रेसले अहिलेकै अवस्थामा मुलुक र जनतालाई समृद्ध बनाउने गरी अघि बढ्न नसक्ने भएकाले वैकल्पिक शक्तिको निर्माण जरुरी रहेको बताए । 

‘अहिलेको कम्युनिष्ट र कांग्रेसबाट यो कुरा सम्भव छैन, तर पनि यसबीचमा वैकल्पिक शक्ति निर्माणका लागि माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीका बीचमा यस्तो खालको शक्ति निर्माण गरेर अघि बढ्न सकिन्छ कि भनेर छलफल भइरहेको छ, उनले भने–कम्युनिष्ट नाम र त्यही दर्शनलाई लिएर हैन कि, नयाँ ढंगले अघि बढ्ने गरी वैकल्पिक शक्तिका रुपमा स्थापित हुने गरी सहकार्य गर्न सकिन्छ कि भन्ने हाम्रो प्रयत्न छ ।’ 

मुलुकमा आर्थिक, सामाजिक र साँस्कृतिक परिवर्तन परिवर्तन हुन नसक्दा जनतामा निराशा र अन्यौल छाएको उल्लेख गर्दै उनले राजनीतिक शक्तिबीचमा नयाँ ढंगले एकता कायम गरी अगाडि बढुनु नै उत्तम विकल्प हुने बताए । अध्यक्ष भट्टराईले क्रान्तिबाट आएका नेताहरुले नै बाटो बिराउँदा देश गलत दिशामा अघि बढेको जनाउँदै एकता र सार्वभौमसत्ताको रक्षाका लागि नयाँ समाजवादको मोडल आवश्यक रहेकोमा जोड दिए ।  

पार्टीका वरिष्ठ नेता अशोक राईले जनताको जीवनस्तर परिवर्तनका लागि चार महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गरेको बताए । जनवर्गीय संगठन विस्तार र विभिन्न धारबाट आएका समूहका अलग बुझाई चिर्न, र जनता जागरुक गर्न अभियान थालिएको उनको भनाइ छ ।

मंसिर महिनासम्म सञ्चालन हुने अभियानमा जनताका माझमा आफ्ना बिचार प्रस्तुत गर्ने र जनताका विचार बुझ्ने काम भइरहेको नेता राईले बताए ।