
शनिवार , मंसिर ११, २०७८
सौराहा, ११ मंसिर ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई दशौँ राष्ट्रिय महाधिवेशनमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका नामावाली हलसमक्ष प्रस्तुत गर्ने अधिकार दिइएको छ ।
अध्यक्ष ओलीले केन्द्रीय लेखा आयोग र अनुशासन आयोगका २५÷२५ जना पदाधिकारीका नाम पनि प्रस्ताव गर्नेछन् । एमाले महाधिवेशनको जारी बन्दसत्रमा उपमहासचिव विष्णुप्रसाद पौडेलले परिमार्जित विधानअनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटीको निर्माण गर्दा विभिन्न क्लष्टरबाट खुल्ला, महिला, जनजाति, मुस्लिम, थारु, श्रमिक, पिछडिएको क्षेत्र आदिका प्रतिनिधित्व हुने गरी उक्त प्रस्ताव गर्नुहुने जानकारी दिए । तर सो प्रस्तावलाई उपाध्यक्ष डा भीम रावलले अस्वीकार गर्दै आफूले अध्यक्षमा उम्मेदवारी दिने हललाई जानकारी गराए । आजको बन्दसत्रको समापन गर्दै अध्यक्ष ओलीले उम्मेदवारी दिन पाउने हक कायमै रहेको र सकेसम्म पार्टीलाई एकताबद्ध बनाउन सहमतिमा जाउँ भन्ने हलको कार्यादेश रहेको स्पष्ट पारे । महासचिव ईश्वर पोखरेलले सहमति नभएका पदमा उम्मेदवारी दिन पाइने जानकारी दिए ।
महाधिवेशनमा नेकपा एमालेले सर्वसम्मतिमा नेतृत्वको चयनका लागि प्रयास गरिरहेको छ । सर्वसम्मतिका लागि आज नेताहरू आन्तरिक छलफलमा थिए भने कार्यकर्ताले दबाब दिएका थिए । बन्दसत्रका क्रममा बोल्दै अध्यक्ष ओलीले सर्वसम्मत अहिलेको आवश्यकता रहेको भन्दै सर्वसम्मत हुँदैमा लोकतन्त्र नमिचिने बताए । उनले मतदान र सर्वसम्मत दुवै निर्वाचनका प्रक्रिया रहेको भन्दै चुनाव लड्ने अधिकारी सबैलाई रहेको बताए । बन्दसत्र आइतबार १० बजे पुनः सञ्चालन हुनेछ । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij