२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

एकीकृत समाजवादी सिद्धार्थनगरको भेला सम्पन्न

शनिवार , मंसिर ११, २०७८

भैरहवा, ११ मंसिर ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सिद्धार्थनगरको नगर भेला शनिबार भैरहवामा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सदस्य तथा सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेले संगठनमा सबै प्रतिबद्ध भएर लाग्न आग्रह गर्दै ओलीको दम्भका कारण समाजवादी पार्टी गठन भएको बताइन् । उनले भनिन् ‘हामी जनताको मनोभावनालाई बुझेर अगाडि बढ्छौं, कुनै व्यक्तिले आफ्नो स्वार्थका लागि कुनै कार्य गर्न खोज्छ भने सदैव विरोध गर्ने र प्रतिगामीलाई परास्त गर्न लागि रहनेछौं ।’

पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य डा. ऋषिराम शर्माले समाजवादी पार्टीले नेपाली जनताको भलो हुने काम गरेर अगाडि आग्रह गर्दै व्यक्तिवाद तर्फ नलागेर सामुहिक निर्णय लिएर अगाडि बढ्ने बताए । उनले मुलुकमा प्रतिशोध राखेर ओलीले काम गरेका कारण दुईतिहाइको सरकार ढलेको र धेरै जनताले समाजवादी पार्टी रोज्ने ठोकुवा गरे ।

पार्टीका सिद्धार्थनगर इञ्चार्ज तारापति भण्डारीले पार्टीलाई सशक्त रुपमा अगाडि बढाउन संगठन विस्तार गर्दै जाने बताए । उनले पार्टीलाई सबल र सक्षम बनाउन सबै संगठनले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह समेत गरे ।

सिद्धार्थनगर अध्यक्ष राम बहादुर बस्नेताले देशव्यापी रुपमा संगठन पार्टीको  विस्तार गर्दै अगाडि बढ्ने निर्देशन रहेकोले सिद्धार्थनगरमा योग्यता र क्षमता अनुसारको नेतृत्व दिँदै अगाडि बढ्ने बताए । नगर भेलाले मंसिर मसान्तभित्र सबै वडामा कमिटी विस्तार गर्ने गरी काम अगाडि बढाउने उनले बताए । नगरका १३ वटै वडामा संयोजक चयन गरिएको बस्नेतले जानकारी दिए ।