२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

एमाले महाधिवेशन : नेताहरु चितवन आउन सुरु  

बुधवार , मंसिर ८, २०७८

चितवन, ८ मंसिर । 
नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनको तयारीका लागि नेताहरु चितवन आउने क्रम सुरु भएको छ । महधिवेशनका लागि भन्दै पार्टी सचिव एवं महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराई र पार्टीका वाग्मती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल आज दिउँसो चितवन आइपुगेका छन् ।

बुधबार चितवन आइपुगेका नेता भट्टराईले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै आफूले सचिवमा नै दोहोर्याउने बताए । भट्टराईले पार्टीमा आफ्नो समय भएको भन्दै सचिवमा दोहोर्याउने बताए । “मेरो अझै पार्टीमा समय छ” भट्टराईले भने, “अहिलेको चाहना पार्टी सचिवमा नै हो ।” 

महाधिवेशन तयारीका लागि आज बेलुकासम्म महाधिवेशन मूल व्यवस्थापन समिति संयोजक रामबहादुर थापा (बादल), पूर्वअर्थमन्त्री एवं पार्टी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे पनि चितवन आउने प्रचार सहयोग समिति चितवनका सचिव तिलकराम रिमालले जानकारी दिए । पार्टी नेताहरु चितवन आउने क्रम सुरु भएको भन्दै रिमालले उहाँहरुले जिल्लामा पार्टीको महाधिवेशनको तयारीका सन्दर्भमा भएका गतिविधिबारे अनुगमन तथा निर्देशन गर्ने रिमालले बताए ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । मंसिर १० गते नारायणी नदी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र ११ र १२ गते सौराहाको होटल सेभेन स्टारमा हुँदैछ ।