भैरहवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगतको रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को मतदान स्थगित भएको छ। निर्वाचनका बिषयमा दुई समुहवीच बिवाद बढेपछि मतदान नै स्थगित भएको हो।
सोमबार हुने भनिएको निर्वाचनमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बहिष्कार गरे पछि केन्द्रिय निर्वाचन समितिको आदेश अनुसार निर्वाचन मतदान प्रक्रिया स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ।
दिउसो दुई बजेदेखि शुरु हुने भनिएको निर्वाचन साझ ५ मात्रै शुरु भएपछि मतदानमा असुरक्षाको कारण देखाउदै क्षेत्रिय सभापति पदका उम्मेदवार मात्रिका प्रसाद यादवको समूहले मतदान भोली गर्न आग्रह गरेको थियो।
चर्को दबाब बिच मतदान सुरु भए पछि यादव समूहले उक्त मतदानलाई बहिष्कार गरि निर्वाचन स्थलबाट बाहिरिएको थियो। बाहिरिए लगत्तै यादव समूहले पत्रकार सम्मेलनको आयोजना गर्दै देउवा समूहले शक्तिको आडमा गुण्डागर्दि शैली अपनाउदै जबरजस्ती मतदान गराएको बताउदै कानुनी उपचारमा जाने चेतावनी दिएको थियो।
घटनाको जानकारी माथी सम्म पुगे पछि केन्द्रिय निर्वाचन समितिले मतदान स्थगित गरेको थियो। मात्रिका यादव पक्षले गरेको पत्रकार सम्मेलनको केही बेर पछि क्षेत्रिय सभापति पदका अर्का उम्मेदवार शुसिल गुरुङ समूहले मतदान स्थगित भएको प्रति आपत्ति जनाएको छ।
उक्त समुहले मतदान शुरु भईसकेपछि मतदान स्थगित भएको घटनापछि यादव पक्ष चुनावबाट भागेको आरोप लगाएको छ।
गुरुङले हार्ने डरका कारण यादव पक्ष चुनावबाट भागेको आरोप लगाए। उनले यादव पक्षले सयौ मतदाताहरुको भावनालाई कुण्ठित गरेको भन्दै पार्टीको आन्तरिक लोकतन्त्रलाई कमजोर बनाएको बताए। साझ करिब ५ बजे सुरु भएको मतदानमा ५० जनाले मतदान गरि सकेका थिए।
निर्वाचन प्रक्रियाको ब्यवस्थापनमा क्षेत्रिय सभापति मात्रिका प्रसाद यादवले सहयोग गर्नु पर्नेमा चुनावबाट बाहिरिएको मतदान अधिकृत जिवनारायण अधिकारीले गुनासो गरे। मनोनयन देखि नै यादव पक्षले असहयोग गरेको उनको आरोप छ।
यता यादव पक्षले भने मतदान अधिकृत सत्ताकै दबावमा एकतर्फि रुपमा अगाडि बढेको आरोप लगाए। उनले निर्वाचन समितिले ढिला गर्नकै लागि बुटवलमा गएर मतपत्र छापेर ल्याएको बताए।