
शनिवार , मंसिर ४, २०७८
वुटवल। आफूपक्षका उम्मेदवार हार्ने निश्चित भएपछि भैरहवामा गृहमन्त्री बालकृष्ण खाँणको आडमा पार्टि सभापति शेरबहादुर देउवा पक्षले आफूहरूमाथि आक्रमण गरेको कांग्रेस नेता रामचन्द्र पौडेल समूहले आरोप लगाएको छ। गएराति रुपन्देहीको प्रदेश ३ (क) को मतगणनास्थलमा झडप हुँदा पाँच जना घाइते भएका थिए।
घटनापछि पौडेल समूहले अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री खाँणको आड र जिल्लासचिव समेत रहेका उनका भाइ रामकृष्ण खाँणको निर्देशनमा निर्वाचन बिथोल्ने गरी आफूहरूमाथि मध्यरातमा आक्रमण भएको आरोप लगाएको हो।
गृहमन्त्री खाँणको आफ्नै गृह र निर्वाचन क्षेत्रमा राजनैतिक उदेश्य प्राप्त गर्ने दूरासयले आफ्नै नेता कार्यकर्तामाथि आक्रमण भएको भन्दै पौडेल समूहका नेताहरूले निन्दा पनि गरेका छन्। उनीहरूले एक विज्ञप्ति जारी गर्दै आपराधिक घटनामा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याउन गृह प्रशासनसँग माग पनि गरेका छन्।
पौडेल पक्षले अग्रता लिएपछि रुपन्देहीमा झडप, उम्मेदवारसहित पाँच जना घाइते
देउवा समूहले आफूहरूमाथि आक्रमण गर्दा प्रहरी प्रशासन मुकदर्शक बनेकोमा पनि पौडेल पक्षले खेद प्रकट गरेको छ।
भैरहवास्थित जिल्ला पार्टी कार्यालयमा मतगणना भइरहँदा राति २ः३० बजेतिर झडप भएको थियो। झपडमा क्षेत्रीय सचिवका उम्मेदवार शैलेसकुमार पन्त गम्भीर घाइते भएका छन।
उनको हाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। घटना स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी संगै रहेपनि प्रहरीले आक्रमण हुदासम्म प्रहरी मुक्दर्शक बनेका थिए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij