
शुक्रवार , मंसिर ३, २०७८
भैरहवा, ३ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश कमिटीले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा आफ्नो प्रदेशबाट ७५ हजार जनताको सहभागिता गराउने भएको छ । यसका लागि एमाले प्रदेश कमिटीले जिल्लागत रुपमा जिम्मेवारी बाँडफाँड समेत गरेको छ ।
एमाले प्रचार प्रसार समिति लुम्बिनी प्रदेशले शुक्रबार बुटवलमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै रुपन्देहीले २२ हजार सहभागी गराउने जनाएको छ । त्यस्तै नवलपरासी र कपिलवस्तु जिल्ला कमिटीलाई १५/१५ हजार जनसहभागिता गराउने गरी जिम्मेवारी तोकिएको छ । त्यस्तै दाङबाट ८ हजार, बाँकेबाट ५ हजार, बर्दिया र पाल्पाबाट ३/३ हजार, गुल्मी, अर्घाखाँची र प्यूठानबाट १/१ हजार तथा रुकुम पुर्व र रोल्पाबाट ५/५ सय सहभागिता गराइने एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लिला गिरीले जानकारी दिए ।
चितवनको नारायणी नदी किनारमा मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनको उदघाटन समारोहमा ५ लाखको सहभागिता जुटाउने गरी तयारी भइरहेको महाधिवेशन मूल व्यवस्थापन समितिको सदस्य समेत रहेक नेता गिरीले बताए । एमाले लुम्बिनी प्रदेश कमिटीले प्रदेशस्तरमा महाधिवेशनको व्यापक तयारी समेत थालेको छ । यसका लागि राजमार्गमा डिजिटल विज्ञापन बोर्ड, वडास्तर र पालिकास्तरमा स्वागत गेट निर्माण गरिने छ । प्रचारका लागि भित्ते लेखन र कुनै पोष्टर भने नटाँसिने गिरीले बताए । महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २०८ जना प्रतिनिधि सहभागी हुँदैछन् ।
एमालेको लुम्बिनी प्रदेश प्रचार प्रसार समितिले महाधिवेशन केन्द्रित बुलेटिन प्रकाशनको तयारी समेत थालेको छ । यही मंसिर ६–७ गतेसम्म बुलेटिन प्रकाशन हुने र त्यसमा पुष्पलालको जीवनी, जनताको बहुदलीय जनवादको नीतिलाई मुलुकका सबै पार्टीले अंगालेको विषय तथा मुलुकका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी र कम्युनिष्ट सरकार जस्ता विषयहरु समेटिने एमाले केन्द्रीय प्रचार विभागका सदस्य डिआर घिमिरेले बताए । उनले एमाले बिना विकास सम्भव नभएको स्पष्ट हुँदै गएको बताए । १० औं राष्ट्रिय महाधिवेशनले विशिष्ट सन्देश दिने बताए ।
महाधिवेशन प्रतिनिधि एवं एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईंले एमालेले विधान र नेतृत्वको महाधिवेशन गरेर नयाँ अभ्यास सुरु गरेको भन्दै अब भने यसलाई कांग्रेसले पनि अघि बढाउने निर्णय गरेको र यो अरु दलका लागि पनि सिकाई हुने बताए । उनले एमाले नै मुलुकको निकास दिने पार्टी भएको दावी गरे । नेता चापागाईंले १० औं राष्ट्रिय महाधिवेशनले नेपालको समग्र राजनीतिमा प्रभाव पार्ने बताए । प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष अमृत गिरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij