शुक्रवार , मंसिर ३, २०७८
बुटवल, ३ मंसिर ।
बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीमा गैरसरकारी संस्थाका प्रतिनीधिहरुसंग नवउद्यमी प्रवद्र्धनको लागि सञ्चालन गर्न लागिएको विजनेश इन्कुवेशन (नव उद्यमशाला) कार्यक्रम सम्बन्धि छलफल गरिएको छ ।
विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गरेको प्रमुख साझेदार संस्था बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुधबार बुटवलमा त्यस विषयमा छलफल गरिएको छ । विजनेश इन्कुवेशन कार्यक्रमको बारेमा प्रकाश पार्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले नवउद्यमीलाई सीप, श्रम र लगानीको संयोजन मिलाउनको लागि विजनेश इन्कुवेश कार्यक्रम गर्न लागिएको बताए ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, अन्तरप्रेरणा, लुम्बिनी वाणिज्य क्याम्पस र युवा उद्यमी मञ्च रुपन्देहीको संयुक्त आयोजनामा अघिल्लो वर्ष पनि विजनेश इन्कुवेशन कार्यक्रम गरिएको थियो । नवउद्यमीका लागि अत्यन्तै फलदायी भएकोले तीनै साझेदारहरुको सहकार्यमा नवउद्यमीको लागि यो वर्ष पन कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताए ।
त्यस्तै संघका सल्लाहकार तथा पूर्वअध्यक्ष नवराज श्रेष्ठले उद्योग व्यवसाय मुलुकको अर्थतन्त्रको कडी भए पनि एकातिर उद्योग व्यवसाय सञ्चालनको राम्रो वातावरण नहुनु र अर्कोतिर पुँजी, सीप र श्रमको समुचित व्यबस्थापन नहुँदा उद्योग व्यवसाय फस्टाउन नसकिरहेको भनाई राखे ।
संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरेले संघले औद्योगिक बिकासका लागि व्यवसायिक वातावरण निर्माण तथा उद्यमशिलता विकासका कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा संघले उल्लेखनीय योगदान गरेको स्मरण गरे ।
नवउद्यमीलाई सफल उद्योगी व्यबसायी बनाउने योजनासहित सञ्चालन गर्न लागिएको कार्यक्रमको लागि संघले कार्यक्रममा सहभागि हुन आवेदन आह्वान गरिसकेको छ । उद्योग व्यवसायमा भएका समस्या पहिचान गर्न र त्यसको समाधानको लागि पनि विजनेश इन्कुवेशन कार्यक्रम आयोजना गरिएको संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले जानकारी दिए ।
नौलो सौच भएका, नौलो व्यवसायिक योजना र जाँगर भएका नवउद्यमीलाई सफल उद्यमी बनाउनको लागि विजनेश इन्कुवेश कार्यक्रम आयोजना गरिएको बताउँदै संघका कार्यक्रम अधिकृत केशव ढकालले अघिल्लो वर्ष सञ्चालन भएको कार्यक्रमले आफूहरुमा थप उर्जा थपिएको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै युएनडिपिका प्रतिनीधि सुदिप अर्यालले उद्यमी अनुकुलको शहर बनाउने अभियानमा संगसंगै यात्रा गर्न आफू पनि तयार रहेको भनाई राखे । त्यस अवसरमा सहभागि गैरसरकारी संस्थाका प्रतिनिधिहरुले कृषि, पशुपालन लगायतका क्षेत्रमा राम्रो अवसर भए पनि त्यसमा लगानी गरेका उद्यमीहरुलाई गाईडलाईनको अभावमा प्रभावकारी हुन नसक्ने वा बिचमै पेशा छाड्नुपर्ने परिस्थिति देखिएको बताएका थिए ।
त्यस्तै विदेशमा रोजगारी गरेर फर्किएका युवालाई पनि कसरी उद्यमी बनाउन सकिन्छ त्यसतर्फ पनि सोंच्नुपर्ने भन्दै यस्ता कार्यक्रममा आफूहरुको पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij