२०८३, आश्विन २७ गते

Oct 13 2026 | २०८३, आश्विन २७ गते

तिलोत्तमामा मंसिर ३ देखि औद्योगिक व्यापार मेला आयोजना हुँदै

मंगलवार , आश्विन २७, २०८३

  • 244
    Shares
  • 244
    Shares
  • बुटवल, २७ असोज । स्थानीय उत्पादनको बजारीकरण, औद्योगिक विकास, पर्यटन प्रवद्र्धन तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमामा चौथो औद्योगिक व्यापार मेला, कृषि, प्रविधि तथा पर्यटन महोत्सव हुने भएको छ । तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा आगामी मंसिर ३ देखि १६ गतेसम्म तिलोत्तमा नगरपालिका–४, मणिग्रामस्थित अस्थायी प्रदर्शनीस्थलमा महोत्सव सञ्चालन हुन लागेको हो ।

    आयोजकका अनुसार महोत्सवमा पाँच लाखभन्दा बढी दर्शक सहभागी हुने र १२ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा औद्योगिक तथा व्यवसायिक उत्पादन, कृषि उपज, प्रविधि, पर्यटन र सेवामूलक सामग्री तथा सेवाको प्रदर्शनी गरिनेछ । यसका लागि ३५० भन्दा बढी स्टल रहनेछन् । होटल व्यवसायका लागि २० वटा स्टल छुट्याइनेछ भने अटोमोबाइल तथा सूचना प्रविधिसम्बन्धी स्टल आवश्यकताअनुसार व्यवस्थापन गरिनेछ ।

    पत्रकार सम्मेलनमा मेलाको तयारीबारे जानकारी दिदै संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले महोत्सवलाई व्यापारिक गतिविधिमा मात्र सीमित नराखी स्थानीय उद्यमीका उत्पादनलाई राष्ट्रिय बजारसम्म पुर्याउने माध्यमका रूपमा विकास गर्न खोजिएको बताउनुभयो । कृषि, उद्योग, व्यापार, प्रविधि र पर्यटनलाई एउटै स्थानमा जोडेर तिलोत्तमाको आर्थिक पहिचान स्थापित गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । महोत्सव सफल बनाउन स्थानीय तथा जिल्ला तहका सरोकारवालासँग नियमित छलफल र अन्तरक्रिया भइरहेको उहाँले जानकारी दिनुभयो ।

    अध्यक्ष कार्कीका अनुसार स्थानीयस्तरमा आयोजना गरिने राष्ट्रियस्तरका मेला महोत्सव स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण माध्यम हुन् । यस्ता कार्यक्रमले साना तथा मझौला उद्योग, घरेलु उद्यम, कृषि व्यवसाय र स्थानीय उत्पादनलाई उपभोक्ता तथा ठूला बजारसँग जोड्ने अवसर प्रदान गर्छन् । सीमित स्रोत र प्रचारप्रसारका कारण बजार विस्तार गर्न नसकेका उद्यमीले आफ्ना उत्पादनको गुणस्तर, विशेषता र सम्भावनाबारे जानकारी गराउन पाउँछन्।

    संघका पूर्वअध्यक्ष गुणनिधी भण्डारीले यस्ता महोत्सवले उत्पादनको विक्री बढाउनुका साथै नयाँ व्यवसायिक सम्बन्ध स्थापित गर्न, लगानी आकर्षित गर्न र रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुर्याउने बताउनुभयो । भण्डारीका अनुसार महोत्सव सञ्चालन हुँदा होटल, यातायात, खानपान, सञ्चार, मनोरञ्जन तथा अन्य सेवा व्यवसायमा समेत आर्थिक गतिविधि बढ्छ। यसबाट स्थानीय व्यवसायी, श्रमिक र सेवा प्रदायकले प्रत्यक्ष तथा अप्रत्यक्ष लाभ लिन सक्छन्।

    त्यस्तै कृषि, उद्योग र पर्यटनलाई एकीकृत रूपमा प्रवद्र्धन गर्न यस्ता महोत्सव उपयोगी हुन्छन् । स्थानीय पर्यटकीय गन्तव्य, धार्मिक स्थल, कला, संस्कृति र मौलिक उत्पादनको प्रचारप्रसारबाट बाह्य पर्यटक आकर्षित गर्न सकिन्छ । तर, महोत्सवको वास्तविक औचित्य पुष्टि गर्न स्थानीय उत्पादनलाई प्राथमिकता, उचित मूल्य, प्रभावकारी बजार सम्पर्क, वातावरणीय व्यवस्थापन र कार्यक्रमपछिको व्यावसायिक निरन्तरतामा समेत ध्यान दिन आवश्यक हुन्छ ।
    महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारका साँस्कृतिक प्रस्तुति, बाल उद्यान र मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिनेछ । प्रवेशद्वारमा लुम्बिनीबाट पशुपतिनाथ हुँदै मुक्तिनाथसम्मको धार्मिक तथा साँस्कृतिक यात्राको झल्को दिने संरचना तयार गरिने आयोजकले जनाएको छ । तिलोत्तमाका पर्यटकीय तथा धार्मिक स्थलको परिचय, जलवायु परिवर्तनसम्बन्धी सचेतना र नैतिक शिक्षासम्बन्धी सामग्री पनि प्रदर्शनीमा राखिनेछ ।

    योजकका अनुसार मेलाको सामान्य प्रवेश शुल्क १५० रुपैयाँ तोकिएको छ । विशेष कार्यक्रम तथा रात्रीकालीन कन्सर्टका लागि ४०० देखि ६०० रुपैयाँसम्म शुल्क लाग्नेछ । विद्यार्थीलाई परिचयपत्रका आधारमा टिकटमा ५० प्रतिशत छुट दिइनेछ भने ज्येष्ठ नागरिक, पाँच वर्षमुनीका बालबालिका र परिचयपत्रका आधारमा फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । नगरपालिकाको सिफारिसमा आउने २५ जनासम्मको समूहले पनि निःशुल्क प्रवेश पाउनेछ ।

    स्थानीय उत्पादनको प्रवद्र्धन, बजार विस्तार, रोजगारी सिर्जना र पर्यटन विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको महोत्सवलाई व्यवस्थित र सुरक्षित रूपमा सञ्चालन गर्न आयोजकले सरकारी निकाय, उद्योगी–व्यवसायी, वित्तीय तथा शैक्षिक संस्था र सर्वसाधारणसँग सहकार्यको अपेक्षा गरेको छ ।