२०८२, श्रावण १९ गते

Aug 04 2025 | २०८२, श्रावण १९ गते

करहिया स्वास्थ्य चौकीलाई इमरजेन्सी रिलिफ बेड सहयोग

बिहिवार , मंसिर २, २०७८

भैरहवा, २ मंसिर ।
भैरहवास्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले करहिया स्वास्थ्य चौकीलाई इमरजेन्सी रिलिफ बेड सहयोग गरेको छ । प्रतिष्ठानले रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ दीपनगरस्थित बिहीबार आयोजित स्वास्थ्य चौकी भवन उद्घाटन कार्यक्रममा २ थान बेड हस्तान्तरण गरेको हो ।

प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी.ले तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरीदेवी चौधरी र तिलोत्तमा–८ का वडाअध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद पौडेललाई उक्त बेड हस्तान्तरण गरेका हुन् ।

सो अवसमा बोल्दै वडाअध्यक्ष पौडेलले यस अघि प्रतिमान–नीमा स्मृति प्रतिष्ठानका उपाध्यक्ष तथा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराले स्वास्थ्य चौकीलाई सहयोग गर्ने प्रतिबद्धता अनुसार स्वास्थ्यचौकीको माग बमोजिम बेड उपलब्ध भएको बताए । उनले बेड सहयोग गर्ने प्रतिष्ठानलाई धन्यवाद व्यक्त गरे ।

tilottama news 2.jpg

नवनिर्मित स्वास्थ्य चौकी भवनको तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरे र उपप्रमुख जगेश्वरीदेवी चौधरी संयुक्त रुपमा उद्घाटन गरे ।

tilottama silanyas .jpg

सो अवसरमा बोल्दै नगरप्रमुख घिमिरेले आधारभूत स्वास्थ्य सेवाका लागि नगरपालिकाबाट बजेट उपलब्ध गराउने प्रतिवद्धता व्यक्त भएको बताए । उनले नवनिर्मित स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवा हिजो भन्दा अझ राम्रो हुने अनुभुति गराउनुपर्ने बताए । उनले भने, ‘औषधी सिद्धियो भन्ने गुनासो सुन्न नपरोस्, ।’ हिजोका दिनमा स्वास्थ्य क्षेत्रमा केही बेथिति भए पनि जनप्रतिनिधि आइसकेपछि अनुगमनपश्चात स्वास्थ्य क्षेत्रमा क्रमश सुधार भएको उनको भनाइ थियो ।

नगर उपप्रमुख जगेश्वरीदेवी चौधरीले स्वास्थ्य सेवा लिनु नागरिकको नैसर्गिक अधिकार भएको बताइन् । उनले स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताइन् । उपप्रमुख चौधरीले वडा नम्बर ८ ले स्वास्थ्य चौकी भवन बनाउन सफल भएको बताइन् ।
तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले स्वास्थ्य सेवा प्रभावकारी ढंगले पुर्याउनुपर्नेमा जोड दिए । 

नेकपा एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य यज्ञ गैरेले स्वास्थ्य चौकी भवनको जग्गा प्राप्तीमा योगदान गर्ने सबैलाई धन्यवाद दिए ।
नेपाली कांग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेले स्वास्थ्य चौकीमा अत्यावश्यक औषधी उपलब्ध हुनुपर्ने बताए । 

नेकपा (माओवादी केन्द्र) तिलोत्तमा नगर अध्यक्ष लक्ष्मण खनालले आफ्नै भवनबाट स्वास्थ्य चौकी सञ्चालन हुनु खुसीको विषय भएको बताए ।
करहिया स्वास्थ्य चौकीका इञ्चार्ज इश्वरी प्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । २०७७ भदौ २३ गते स्वास्थ्य चौकी भवनको शिलान्यास भएको थियो ।