मंगलवार , कार्तिक ३०, २०७८
भैरहवा, ३० कात्तिक । मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मंगलबार गरेको नेपाल बन्दका कारण रुपन्देहीको सदरमुकाम भैरहवाको जनजीवन प्रभावित भएको छ । सार्वजनिक सवारीसाधनहरू कमै मात्र चलेका छन् । सार्वजनिक सवारीसाधन कम मात्र चल्दा काम विशेषले आज बिहानै गन्तव्यमा जान चाहनेहरुले सास्ती पाएका छन् ।

भारतबाट बेलहिया नाका हुँदै भित्रिएका यात्रुहरु पनि मर्कामा परेका छन् । काठमाडौंको पशुपतिनाथ दर्शनका लागि बेलहिया नाका हुँदै नेपाल प्रवेश गरेका एक भारतीय नागरिकले बन्दका कारण सास्ती खेप्नुपरेको बताए । भारतबाट आएका भारतीय मालवाहक सवारीसाधन पनि आफ्नो गन्तव्यमा पुग्न सकेका छैनन् ।
निजी कार र मोटरसाइकलहरू भने चलिरहेका छन् । तर ती पनि अघिल्ला दिनको तुलनामा कमै मात्र चलेका छन् । पसल र बजार पनि फाटफुट खुलेका छन् । भैरहवाका विभिन्न चोकमा सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ ।

© 2025 All right reserved to khabarpatro.com | Site By : sobij