
शुक्रवार , कार्तिक २६, २०७८
भैरहवा, २६ कात्तिक ।
नेपाली कांग्रेसका युवा नेता सुशील गुरुङ्गले पार्टीको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ को सभापतिमा उम्मेदवारी दिने भएका छन् । कांग्रेस क्षेत्र नम्बर ३ का सचिव गुरुङ्गले आगामी मंसिर ६ गते हुने क्षेत्रीय अधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
पार्टीलाई प्रभावकारी, डिजिटलाइज, गुणात्मक अभिवृद्धि र भावनात्मक रुपमा एकताबद्ध गर्न सभापतिमा उम्मेदवारी दिने नेता गुरुङ्गले बताए ।
‘परिपक्व र अनुभवी अग्रजलाई सम्मान, अब जोश–होश र जाँगरले भरिपुर्ण शिक्षित युवालाई स्थान’ भन्ने नाराका साथ सभापति पदमा उम्मदेवारी दिन लागेको हुँ, उनले भने ।
यस्तो छ सुशील गुरुङको परिचय
पिता स्व. तिलक गुरुङ्ग र आमा निशानी गुरुङ्गको कोखबाट जन्मिएका सुशील गुरुङ्ग सिद्धार्थनगर नगरपालिका वडा नम्बर १, नयाँ गाउँका स्थायी बासिन्दा हुन् । उनले व्यवस्थापन संकायमा स्नातकोत्तर (एम.बी.एस.) गरेका छन् ।
२०५१ सालमा नेपाल विद्यार्थी संघ (ने.वि.संघ) को साधारण सदस्य भएका गुरुङ्ग २०५४ सालमा ने.वि.संघ भैरहवा बहुमुखी क्याम्पस इकाई अध्यक्ष, २०५५ मा सोही क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) उपसभापति, २०५७ स्ववियु सभापति, २०५७ मा स्ववियु परिषद् केन्द्रीय समितिको सह–सचिव, र २ ०६१ सालमा ने.वि.संघ, रुपन्देही अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । उनले २०६२/०६३ को दोस्रो जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
नेता गुरुङ्ग २०६७ मा सम्पन्न कांग्रेसको १२ औं महाधिवेशनबाट रुपन्देही क्षेत्र नम्बर ३ को सचिवमा निर्वाचित भएका थिए । त्यस्तै २०७२ मा कांग्रेसको १३ औं महाधिवेशनबाट रुपन्देही क्षेत्र नम्बर ३ मा पुनः क्षेत्रीय सचिवमा निर्वाचित भएका थिए ।
२०५१ सालदेखि हालसम्म सम्पन्न भएको प्रत्येक निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भइ लागेको गुरुङ्ग बताउँछन् । आजसम्म लाभको कुनै पनि पद नलिएको/नबसेको उनको भनाइ छ । राजनीतिसंगै नेता गुरुङ्ग सामाजिक क्षेत्रमा समेत क्रियाशिल छन् । उनले २०६६ सालमा जेसीआई सिद्धार्थ, नेपाल (सिद्धार्थ जेसीज) को अध्यक्ष, २०७४ मा नेपाल रेडक्रस सोसाइटी बेलहिया शाखा, २०७४ मा लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरको जिम्मेवारी सम्हालिसकेका छन् ।
त्यस्तै २०७४ सालमा नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाको जिल्ला सदस्यको जिम्मेवारी सम्हालेका थिए । नेता गुरुङ्ग हाल पक्लिहवा माध्यमिक विद्यालय, पक्लिहवाको व्यवस्थापन समिति, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल, सिद्धार्थनगरको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । उनी लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी २ नेपालको डिष्ट्रिक्ट डेपुटी चिफको जिम्मेवारीमा समेत छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij