बिहिवार , कार्तिक २५, २०७८
काठमाडौँ, २५ कात्तिक। प्रधानमन्त्री शेरबहादुर देउवाले १२औँ राष्ट्रिय जनगणना अभियानमा सहभागी भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज तथ्याङ्क विभागका गणकहरू पुगेर प्रधानमन्त्रीको पारिवारिक तथ्याङ्क सङ्कलन गरिएको हो ।
केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले प्रधानमन्त्रीको जनगणना गरेर आम जनतामा सकारात्मक सन्देश प्रवाह गरिएको सञ्चारकर्मीलाई जानकारी दिए । राष्ट्रिय जनगणनाजस्तो महान् अभियानमा राष्ट्रपति र प्रधानमन्त्रीको पनि जनगणना हुन्छ र अभियानमा आम जनसहभागिता होस् भन्ने साङ्केतिकरूपमा सन्देश दिनका लागि तथ्याङ्क लिइएको उनले उल्लेख गरे ।
निर्देशक लामिछानेका अनुसार विभागका महानिर्देशकले प्रधानमन्त्रीको पारिवारिक विवरण सङ्कलन गरेका थिए। राष्ट्रिय योजना आयोगका सचिवले जनगणनाबारे जानकारी गराउँदै यसको हरेक क्षेत्रमा पर्ने प्रभावबारे प्रधानमन्त्री देउवालाई अवगत गराएका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण सङ्कलन गरेर आजदेखि देशभर १२औँ राष्ट्रिय जनगणना–२०७८ प्रारम्भ भएको हो । राष्ट्रपतिपछि प्रधानमन्त्रीको जनगणना गरिएको छ । आजैबाट देशभर जनगणना सुरु गरिएको छ । राष्ट्रिय जनगणना अभियान कात्तिक २५ देखि सुरु भई मङ्सिर ९ गतेसम्म १५ दिनको कार्यक्रममा रहने र गणकहरूले हरेक नेपालीको घरदैलोमा पुगेर गणना गर्नेछन् ।
जनगणनामा कोही नछुटुन् भनेर विभागले प्रविधिको प्रयोग गरेको छ । विदेशमा कूटनीतिक नियोगमार्फत गणना गरिनेछ । दार्चुलाको लिम्पीयाधुरामा कूटनीतिक पहलबाट समन्वय गरेर वा वैकल्पिक विधिबाट भए पनि जनगणना गरिने विभागले जनाएको छ । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij