२०८३, आश्विन २७ गते

Oct 13 2026 | २०८३, आश्विन २७ गते

मर्चवारीदेवी मन्दिरमा धार्मिक पर्यटनको प्रचुर सम्भावना : सांसद कुँवर

मंगलवार , आश्विन २७, २०८३

  • 175
    Shares
  • 175
    Shares
  • भैरहवा, २७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधि सभा सदस्य श्रद्धा कुँवरले रुपन्देहीको प्रसिद्ध धार्मिकस्थल मर्चवारीदेवी मन्दिरको दर्शन गर्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले मर्चवारीदेवीप्रतिको आस्था र विश्वासलाई आत्मसात् गर्दै कम्तीमा एकपटक मन्दिर पुगेर दर्शन गर्नुपर्ने बताउनुभयो ।

    मंगलबार मर्चवारीमाई गाउँपालिका–५ स्थित मर्चवारीदेवी मन्दिरको दर्शन तथा अवलोकन गर्न पुग्नुभएकी सांसद कुँवरले मन्दिरमा धार्मिक पर्यटनको अपार सम्भावना रहेको उल्लेख गर्नुभयो । मन्दिरको प्रचारप्रसार र आवश्यक पूर्वाधार विकास गर्न सके यस क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने उहाँको भनाइ थियो ।

    ‘मर्चवारीदेवी मन्दिरका बारेमा मैले पहिलेदेखि नै सुन्दै आएकी थिएँ । देवीको दर्शन गर्न धेरैपटक प्रयास गरे पनि विभिन्न कारणले सम्भव भएको थिएन । यसपटक दशैंको अवसरमा दर्शन गर्न पाउँदा निकै खुसी लागेको छ,’ उहाँले भन्नुभयो ।

    Sradda Kunwar.JPG

    रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य कन्हैया बनियाले मर्चवारीदेवी मन्दिरलाई पर्यटनसँग जोड्दै राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले विभिन्न सांसद तथा मन्त्रीहरूलाई मन्दिरको अवलोकन र दर्शनका लागि ल्याउने पहल गरिरहेको बताउनुभयो ।

    मन्दिरलाई राष्ट्रिय सम्पदाका रूपमा सूचीकृत गर्न आवश्यक पहल भइरहेको जानकारी दिँदै उहाँले प्रधानमन्त्री तथा पर्यटनमन्त्रीसमक्ष समेत प्रस्ताव राखिएको बताउनुभयो । मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्वलाई उजागर गर्दै यसको संरक्षण, विकास र आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

    मर्चवारीदेवी मन्दिरको धार्मिक महत्वलाई राष्ट्रियस्तरमा परिचित गराउन सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुनुका साथै स्थानीय क्षेत्रको आर्थिक तथा पर्यटन विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।