
शुक्रवार , आश्विन ९, २०७७
भैरहवा, ९ असोज ।
रेडिमिक्स व्यवसायी संघ नेपाल, प्रदेश नम्बर ५ ले प्रत्येक सरकारी प्रोजेक्टमा अनिवार्य रेडिमिक्स (आरएमसी) प्रयोग गर्ने वातावरण मिलाउन माग गरेको छ । संघले म्यानुअली प्रयोग गरिएका संरचना त्यत्ति भरपर्दो र बलियो नहुने भएकोले हरेक ठूला प्रोजेक्टमा आरएमसीको प्रयोग हुनुपर्ने माग गरेको हो ।
शुक्रबार भैरहवामा पत्रकार भेटघाटको आयोजना गर्दै संघले रेडिमिक्स व्यवसायीले पनि निर्धारित मापदण्ड र गुणस्तरको पालना गर्नुपर्ने जनाएको छ । मापदण्ड पालना नगरेको खण्डमा संघले नै कारवाहीको प्रक्रिया अगाडी बढाउने बताएको छ ।
रेडिमिक्स व्यवसायी संघ नेपाल, प्रदेश नम्बर ५ का अध्यक्ष भरत कुमार पोखरेलले कच्चा पदार्थको सहज उपलब्धता हुनुपर्ने बताए ।
‘क्रसर व्यवसायीका पनि आफ्नै समस्या छन, उहाँहरुको समस्या समाधानका लागि पनि हामी सहयोगी बन्न सक्छौं, क्रसर व्यवसायीले रेडिमिक्स व्यवसायीलाई गुणस्तरीय गिट्टी, बालुवा दिनुपर्छ, पोखरेलले भने ।’ रेडिमिक्स व्यवसायीले समयमै गुणस्तरीय कंक्रीट दिने र सरकारको निम्ति पनि सहयोग गर्न सक्ने उनको भनाइ छ ।
‘सरकारी संरचनामा गुणस्तरीयताको ग्यारेण्टी दिन सक्छौं, हाम्रो समस्या सरकार समक्ष पु¥याउन पनि पहल गर्छौं, एक खालको सोच बनाएका छौं, उनले भने ।’ रेडिमिक्सले तयार पारेक कंक्रीटको ल्याब टेष्ट समेत हुने भएकोले गुणस्तरीयताको जिम्मेवारी लिन तयार रहेको पोखरेलको दावी छ ।
भएजति रेडिमिक्स एकैठाउँ थोपरिदा व्यवसायीबीच नै अस्वस्थ प्रतिष्पर्धा हुने भएकोले विकसित शहर, जनसंख्या र विकास निर्माणका कामलाई विश्लेषण गरेर नै रेडिमिक्स व्यवसाय सञ्चालन हुनुपर्ने संघको माग छ ।
त्यस्तै रेडिमिक्स व्यवसायीलाई एम्बुलेन्स सरहको मान्यता दिनुपर्ने संघको माग छ । जसरी एम्बुलेन्सले समयमै विरामीलाई अस्पतालमा पु¥याउनुपर्छ, त्यसरी नै रेडिमिक्सले पनि कंक्रिट निर्माणस्थलसम्म पु¥याउन आवश्यक छ, समयमै डेलिभरी गर्न दिनुपर्छ, उनले भने । चाउचाउ, बिस्कुट उद्योग जस्तो सरकारले आरएमसी व्यवसायलाई सोच्न नहुने पोखरेलको भनाइ छ ।
प्रदेश ५ मा १४ वटा रेडिमिक्स व्यवसाय सञ्चालनमा रहेको संघका कोषाध्यक्ष बलराम उपाध्यायले बताए । त्यस्तै प्रदेश ५ मा रेडिमिक्स व्यवसायमा १५० करोड बढी लगानी रहेको उनले जानकारी दिए । संघका अनुसारएउटा रेडिमिक्स व्यवसाय सञ्चालन गर्न ८ देखि १० करोडसम्म लगानी चाहिन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij