२०८२, मंसिर ३ गते

Nov 19 2025 | २०८२, मंसिर ३ गते

उपसचिव बस्यालको ‘गाउँघरको माया’ ले देखाउँछ गाउँको अवस्था

बुधवार , मंसिर ३, २०८२

  • 274
    Shares
  • 274
    Shares
  • बुटवल, ३ मंसिर । पेशा र बाध्यताले थातथलो छाडेर जानेहरुमध्ये कमैले आफ्नो गाउँको सम्झना गर्छन् । तर कलाकार बुद्धिराज बस्याल यसका अपवाद हुनुहुन्छ । नेपाल सरकारको उपसचिव पदमा रहेका बस्याल भने गाउँलाई नै चिनाउने गरी सांगीतिक कोशेली लिएर आउनुभएको छ ।

    महालेखापरीक्षक कार्यालयमा निर्देशक पदमा कार्यरत बस्यालको गाउँ हो स्याङ्जा जिल्ला, विरुवा गाउँपालिका–४ घोप्टे । त्यहीको कथा समेटिएको लोकगीत ‘गाउँघरको माया’ युटुबमा सार्वजनिक भएको छ । बस्यालले आफ्नै नामको युटुब च्यानलमा अपलोड गरेको गीतले चर्चा बटुलेको छ । गाउँ र घरप्रति मानवीय भावना र माटोप्रतिको मोह समेटिएको यस गीतमा समाजका वर्तमान यथार्थहरू चित्रण गरिएको छ ।

    बुद्धिराज बस्याल र सम बस्यालको स्वरमा रहेको गीतको लय र शब्द संयोजन बुद्धिराज बस्याल र अर्जुन थापा मगरले गर्नुभएको हो । यसका गीतका एरेञ्जर पनि अर्जुन थापा मगर नै हुनुहुन्छ । अभिनयमा बुद्धिराज र सम बस्याल देखिएका छन् भने डाईनामिक रेकर्डिङ स्टुडियोमा यो गीत रेकर्ड गरिएको हो ।

    ‘गाउँ खाली छ, घरहरू खण्डहर छन्’ भन्ने भावबाट सुरु हुने गीतमा बाध्यताले गाउँ छोडी शहर र विदेश जानुपर्ने वर्तमान सामाजिक अवस्थाको चित्रण गरिएको छ । गीतले गाउँको माया, पाखा–पधेरा, खोला–नाला, पौडी खेल्ने बाल्यकालका सम्झना र मेलापात गर्ने गाउँजीवनका भावनात्मक पक्षलाई उजागर गरेको छ ।

    स्याङ्जा जिल्ला, विरुवा गाउँपालिका–४ घोप्टेको कथा समेटिएको यस गीतले जहाँ भए पनि गाउँ नबिर्सौं र गाउँलाई माया गरौं भन्ने सन्देश दिएको छ । बस्याल संगीत प्रेमी हुन् । उहाँको बाँसुरी बाधनमा राम्रो दख्खल छ । ‘सानैदेखि नै बाँसुरी बजाउन रुची जाग्यो, उहाँ भन्नुहुन्छ–‘सबै खालका बाँसुरीको धुनमा रमाइलो लाग्छ ।’

    बाँसुरीमा उहाँको लगाव उनले बोक्ने बाँसुरीको मुठ्ठोले नै जनाउँछ । बाँसुरीसंगै लिएर हिड्ने उहाँ फुर्सदमा धुनमा रमाउनुहुन्छ ।