
सोमवार , भाद्र २८, २०७८
भैरहवा, २८ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देहीले हालै भएको वर्षाका कारण बाढी, पहिरो र डुवानले रुपन्देहीका विभिन्न स्थानमा जनधन र भौतिक क्षति भएकोले पीडित परिवारलाई राहत र सहयोग उपलब्ध गराउन स्थानीय, प्रदेश र संघीय सरकारसंग आग्रह गरेको छ । एमाले रुपन्देही जिल्ला कमिटीको बुटवलस्थित पुष्पलाल स्मृति भवनमा सम्पन्न बैठकले यस्तो आग्रह गरेको हो ।
बैठकले कोभिड–१९ महामारीमा नागरिकहरुको जीवन रक्षार्थ खोपको व्यवस्थापनलाई तीव्रता दिन सरकारसंग जोडदार माग गरेको एमाले रुपन्देही प्रचार विभाग प्रमुख मोहन चापागांईले बताए । त्यस्तै आम नागरिकलाई स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गरी सचेतना अपनाएर सुरक्षित रहन समेत एमालेले अपिल गरेको छ ।
बैठकले तिलोत्तमा नगरपालिका–५ का टिका पौडेलको घरमा भदौ २० गते २७ वर्षिय सीता भण्डारीको शंकाष्पद मृत्युप्रति दुःख व्यक्त गरेको छ । उक्त घटनाको निष्पक्ष र विश्वसनीय अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कारवाही गरी पीडित पक्षलाई समेत विश्वस्त बनाउन गृह प्रशासनसंग बैठकले माग गरेको छ ।
त्यसै गरी बैठकले स्थानीय तहका कमिटीहरुको व्यवस्थापनका लागि कार्यदल गठन गरेको छ भने असोज २० गतेभित्र सदस्यता नवीकरणको सबै काम सम्पन्न गरिसक्ने निर्णय गरेको छ । त्यस्तै कार्तिक ६ मा १५५ वटै वडा र कार्तिक ९ मा १६ वटै पालिका कमिटीहरुको अधिवेशनको तयारी सम्बन्धि निर्णयहरु समेत गरेको एमाले जिल्ला प्रचार विभाग प्रमुख मोहन चापागांईले जानकारी दिए ।
बैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज दधिराम न्यौपानेले पार्टीमा देखिएको विग्रह र तथस्टतालाई चिर्दै सम्पूर्ण शक्तिका साथ कार्यकर्ता र जनतामा जान नेतृत्वमा रहेका कार्यकर्तालाई आग्रह गरे । उनले पार्टीलाई थप सुदृढ बनाउदै विकास र सम्बृद्विको यात्रालाई नया शिराबाट अघि बढाउन सकिने बताए । न्यौपानेले यही भदौ ३० गते पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा हुने अगुवा कार्यकर्ताको भेलामा सबैको सहभागिताको सुनिश्चित गर्न नेतृत्वलाई क्रियाशिल हुन आव्हान गरे ।
एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज दधिराम न्यौपाने, जिल्ला सह–इञ्चार्ज एकराज विश्वकर्मा, प्रदेश कमिटीका सचिव भूमिश्वर ढकाल, प्रदेश कमिटीका सदस्यहरुको उपस्थिति रहेको थियो । पार्टीका रुपन्देही जिल्ला कमिटी उपाध्यक्ष पुरुषोत्तम घिमिरे तथा सचिव जागेश्वरी चौधरीको सञ्चालनमा बैठक सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij