सोमवार , भाद्र २१, २०७८
भैरहवा, २१ भदौ ।
रुपन्देहीमा प्रहरीले सवा दुईलाख अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र कार्यालय मातहत विभिन्न प्रहरी इकाइहरुले बिहीबार, शुक्रबार र शनिबार गरी दुई लाख पच्चिस हजार बराबरको अवैध सामान बरामद गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक भाष्कर चन्दको कमाण्डमा खटिएको टोलीले रुपन्देहीको रोहिणी गाउँपालिका–६ स्थित ललितपुर पक्डिहवामा भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको अवैध चिनी बरामद गरेको छ । अन्दाजी मूल्य १६ हजार रुपैयाँको चिनी फेला पारी स्थानीयको रोहबरमा बरामद गरी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै ईप्रका लुम्बिनी र प्रहरी चौकी सुक्रौली आमाबाट खटिएको संयुक्त टोलीले रुपन्देहीको मायादेवी गाउँपालिका–१ बरौलीमा भारतबाट भन्सार छली अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको कपडा, चिनी, खसी, मोटर गरी ९५ हजार बराबरको सामान बरामद गरेको छ । बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।
त्यसै गरी ईप्रका मझगावाबाट खटिएको टोलीले कोटहीमाई गाँउपालिका–५ दुईमुहानमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको यु पी ५५ आर ११८२ नम्बरको मोटरसाइकलमा २८ वटा ब्रोईलर कुखुरा फेला पारी मोटरसाइकलसहित अन्दाजी मुल्य ५८ हजार बराबरको सामान नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि पशु सेवा क्वारेन्टाईन बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै ईप्रका मर्चवार मातहत प्रहरी चौकी रोईनिहवा (खजहना बाट खटिएको टोलीले सम्मरीमाई गाउँपालिका–५ स्थित सिद्धनाथमा भारतबाट अबैध रुपमा भन्सार छली चोरी–पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी २४ हजार मुल्य बराबरकोे १६ पिस कुर्था (सुट) फेला पारेको हो । स्थानीयको रोहवरमा उक्त सामान बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।
त्यसै गरी ईप्रका धकधईबाट खटिएको टोलीले रोहिणी गाउँपालिकाको विभिन्न स्थानहरुवाट अवैध रुपमा भन्सार छली चोरीपैठारी गरेको अन्दाजी मूल्य ३२ हजारबराबरको ६ बोरा चिनी र ४ बोरा हरियो मटर फेला पारेको छ । स्थानीयको रोहबरमा सामान बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij