
शुक्रवार , भाद्र १८, २०७८
बुटवल, १८ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इञ्चार्ज दधिराम न्यौपानेले पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपालले विचारको राजनीति छाडेको बताएका छन् । विचारको राजनीति छाडेर अवसरको पछाडि कुँद्ने नेताहरुका कारण कम्युनिष्ट पार्टीमा बेलाबखत समस्या आउने गरेको उनको भनाइ छ ।
एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर ९ को शाखा कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले प्रचण्ड माओवादीको विचार परित्याग गरी पार्टीलाई समाप्त गर्ने दिशातर्फ लागेको र माधव नेपालले जनताको बहुदलीय जनवादलाई त्यागेर प्रतिक्रियावादी शक्तिको डिजाइनमा एमालेलाई विभाजन गरी आफै समाप्त हुने दिशातर्फ गएको न्यौपानेले बताए । उनले एमालेलाई कार्यकर्ताले बचाएको पार्टी भन्दै नेतृत्वमा समस्या आउँदा कार्यकर्ता पंक्तिले सिंगो पार्टीलाई कमजोर हुनबाट रोकेको बताए । उनले ओलीलाई फालेर देउवालाई प्रधानमन्त्री बनाएकोमा आलोचना गर्दै पुँजीवादको वकालत गर्ने कांग्रेस कहिल्यै समाजवादमा जान नसक्ने बताए ।
बैठकलाई सम्बोधन गर्दै एमाले रुपन्देहीका सचिवालय सदस्य एवं बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीले पार्टीमा विभाजन आएको नभए सानो संख्या चोइटिएर गएको र यसको क्षतिपूर्ति गर्न आफूहरु तयार रहेको बताए । उनले पार्टीका सबै कमिटीहरु अव संगठन विस्तार र सुदृढीकरणमा लाग्ने भन्दै कत्ति पनि विचलित नभइ पार्टी काममा लाग्न कार्यकर्तालाई आग्रह गरे ।
बैठकमा शाखा कमिटीका अध्यक्ष भोज बहादुर बुढाथोकीले शाखा कमिटीले गरेका निर्णयहरुबारे जानकारी गराउँदै आगामी कार्ययोजना प्रस्तुत गरेका थिए भने सचिव बाबुराम बेल्बासे, गुणनिधि खनाल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij