
सोमवार , भाद्र २९, २०७७
काठमाडौं । ‘देशको मेरुदण्ड’ भनेर विज्ञापन गर्दै आएको जगदम्बा स्टिलका डण्डी गुणस्तरहीन पाइएको छ । उच्च गुणस्तरको दाबी गरिएको जगदम्बाको फलामे डण्डी अर्थात् छड गुणस्तरहीन भेटिएपछि सरकारले उत्पादनमा रोक लगाएको हो । नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार गुणस्तरहीन भेटिएको १६ एमएमको ‘टिएमटी बार फी ५००’ रड उत्पादनमा रोक लगाएको छ । जगदम्बाले मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरहीन रड उत्पादन गरेको भेटिएको विभागले जनाएको छ ।
‘डण्डीको गुणस्तर कमजोर पाइएपछि उत्पादनमा रोक लगाएका हौं,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भन्नुभयो, ‘गुणस्तरको सुनिश्चितता नहुँदासम्म उत्पादन गर्न पाउँदैन ।’ ‘उद्योगले आफ्नो कमजोरी स्वीकार गरेको छ,’ पुडासैनीले भन्नुभयो, ‘थप छानबिन भइरहेको छ ।’
रडमा कार्बनको मान ०।३ प्रतिशत ९म्याम्स० हुनुपर्नेमा ०।३५ प्रतिशत, सल्फरको मान ०।०५५ प्रतिशत हुनुपर्नेमा ०।०६ प्रतिशत र बेन्ड टेस्टमा क्र्याक देखिएको थियो । परीक्षण नतिजा नेपाल गुणस्तर १९१ बमोजिम नभएपछि विभागले कारबाही प्रक्रिया अघि बढाएको हो ।
यो कुरा तब बाहिर आयो जब काठमाडौंका एक उपभोक्ताले घर बनाउँदा प्रयोग गरेका जगदम्बाका डण्डी भाँचिएपछि गुणस्तर परीक्षणका लागि विभागमा निवेदन दिए । वनस्थलीस्थित खरिबोट, बोहोराटारका श्रीकृष्ण भट्टराईले दिएको निवेदनको आधारमा विभागले परीक्षण गर्दा जगदम्बा स्टिलमा कैफियत भेटिएको हो । पीडित भट्टराईले आफूले उचित न्याय पाउनुपर्ने भन्दै विभिन्न सरकारी निकायमा जगदम्बा स्टिलविरुद्ध उजुरीसमेत दिनुभएको थियो ।
यो तिनै मालिकको कम्पनी हो जसले कोरोना कहरमा ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेका थिए । हो उनै शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवालको कम्पनी जगदम्बाले गुणस्तरीय भन्दै उपभोक्तालाई गुणस्तरहीन डण्डी बेच्दै आएको रहेछ । ‘राष्ट्र निर्माणमा समर्पित’ भन्ने जगदम्बा सिमेन्ट र स्टिलका मालिक सुलभ राष्ट्र संकटमा पर्दा लुट्न केन्द्रित देखिए । उनका कम्पनीका उत्पादन पनि गुणस्तरहीन प्रमाणित भए ।
जगदम्बा स्टिल मात्रै होइन जगदम्बा सिमेन्टमा समेत कैफियत फेला परेपछि विभागले कारबाही गरेको छ । जगदम्बा सिमेन्टको पिसिसि ओम मंगला सिमेन्टमा कैफियत भेटिएपछि सो सिमेन्टको उत्पादन बन्द गरी बिक्री भइसकेको सामान बजारबाट फिर्ता गर्न विभागले निर्देशन दिएको छ ।
किर्गिस्तानको लागि अनररी कन्सुलरसमेत रहेका अग्रवाललाई उनले प्रयोग गर्ने २०९ एचसिसी १ नम्बरको कूटनीतिक नियोगको नम्बर प्लेट राखिएको मित्सुबिसी पजेरो गाडीमा थर्मल गन बिक्री गर्न हिँडेको अवस्थामा गत चैतमा प्रहरीले पक्राउ गरेको थियो । देश कोरोनाले आक्रान्त भएका बेला देशलाई सहयोग गर्नुपर्नेमा कालोबजारी गर्दै हिँड्नु योभन्दा लज्जास्पद अरू के हुन सक्छ रु देश संकटमा परेका बेलामा सहयोग गर्नु हामी नागरिकको दायित्व हो ।
तर, कमाउ धन्दाको यही मौका हो भनेर लाग्ने स’लभ जस्ताका कारण समग्र निजी क्षेत्रको शिर लज्जित भएको उद्योगी व्यापारीहरू बताउँछन् । जगदम्बा स्टिल राष्ट्र निर्माणमा समर्पित भनेर विज्ञापन गर्ने शंकर ग्रुपले भने देश नै संकटमा परेको बेला उल्टै राष्ट्र लुट्नमा केन्द्रित पो देखियो । महानायक राजेश हमाल हेलिकोप्टरबाट उत्रेर हिरो शैलीमा भन्नुहुन्छ, ‘भनेर होइन, बनेर नम्बर वान ।’ तर, यो सब जनतालाई भ्रम छर्ने कम्पनीको भ्रमजाल विज्ञापन मात्र रहेछ ।
जगदम्बा स्टिललाई केही वर्षअघि सरकारले कबाडी कच्चापदार्थ प्रयोग गरेर गुणस्तरहीन स्टिल उत्पादन गरेको भन्दै कारबाही पनि गरेको थियो । अहिले पनि फलामको डण्डी उत्पादन गर्न उच्च गुणस्तरको ब्लेड प्रयोग गर्नुपर्नेमा जगदम्बाले कबाडीमार्फत संकलन गरेका फलामका टुक्रा पगालेर ब्लेड बनाई प्रयोग गर्दै आएको पाइएको छ । नम्बर वान फलामे छड भनेर दाबी गर्दै आएको जगदम्बाको गुणस्तरमा गम्भीर लापरबाही देखिएको छ । जगदम्बा स्टिलको उद्योग बाराको सिमरामा रहेको छ ।
समय–समयमा विभिन्न विवादमा मुछिँदै आएको शंकर ग्रुपको नियतमै खोट देखिन्छ । यो ग्रुप नक्कली भ्याटबिल प्रकरणमा पनि राम्रैसँग विवादमा मुछिएको थियो भनेर जानकारहरू बताउँछन् । यसले के देखाउँछ भने यसका सञ्चालक गुणस्तरमा भन्दा पनि जसरी हुन्छ एकमात्र ध्यान कमाउ धन्दामा लागेको पाइन्छ । अहिलेको अवस्थामा कालोबजारी गरेर सुलभले कमाएको इज्जत आजसम्म कमाएको पैसा तिर्दा पनि पाउने छैनन् । कालोबजारी गर्दागर्दै सुलभ पक्राउ परेपछि उद्योगी व्यवसायी र धनाढ््यहरूलाई हेर्ने सामाजिक दृष्टिकोणसमेत अत्यधिक नकरात्मक भएको छ । अझ उनको स्वामित्व रहेको जगदम्बाको रड प्रकरणले उनको नियत स्पष्ट पारेको छ ।
केही समयलाई उत्पादन र बिक्रीमा रोक मात्रै होइन, यसको दीर्घकालीन समाधान खोजिनुपर्ने उपभोक्ताकर्मीहरूको भनाइ छ । जगदम्बा स्टिलले कमसल कच्चा पदार्थको प्रयोग गरी छड उत्पादन गरेको समाचार विभिन्न सञ्चारमाध्यममा सचित्र आएका थिए । तर, सो समूहले आफ्नो पहु“चका भरमा घटनालाई ढाकछोप गर्दै आएको थियो । अहिले केही कुरा मात्रै चुहिन पुगेको हो । यस बिषयमा शंकर ग्रुपका सञ्चालकमध्येका एक साहिल अग्रवालस“ग हिमालय टाइम्सले सम्पर्क गर्न खोज्दा अग्रवालस“ग सम्पर्क हुन सकेन ।
भन्सार तिरेर ल्याएको सामानको मात्र व्यापार गर्न पाइन्छ । सामाजिक काममा ल्याइएका भनिएका वस्तु बेच्न पाइन्न । भन्सारको विवरणअनुसार शंकर ग्रुपले तीन हजार थान टेस्ट किट, केही मास्क, पाँच सय थान पिपिई र १२ सय थान थर्मल गनलाई व्यापारिक प्रयोजनमा देखाएर भन्सार तिरेको थियो । बाँकी भने ‘सेटिङ’ मा छिराएर अत्यधिक बढी मूल्यमा बेचेको पाइएको थियो ।
सरकारले स्वास्थ्य सामग्री झिकाउन ठेक्का सम्झौता गरेको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलको सामानसहित केही अनुदानित सामग्री ल्याउन नेपाल सरकारले नेपाल वायु सेवा निगमको जहाज चार्टर गरेर ग्वान्जाओ पठाएको थियो । त्यही विमानमा निजी क्षेत्रले खरिद गरेका सामानसमेत ल्याइएका थिए । शंकर ग्रुपले पनि त्यही चार्टर जहाजमा सामान ल्याएको थियो ।
प्राधिकरणको बक्यौतादेखि गुणस्तरहीन स्टिल उत्पादनसम्म
वार्षिक अर्बौं कारोबार गर्ने व्यावसायिक घराना शंकर समूहका उपाध्यक्ष सुलभ अग्रवालले देश कोरोना महामारीबाट आक्रान्त भएका बेला स्वास्थ्य उपकरणमा कालोबजारी गर्दागर्दै पक्राउ परेका थिए ।
अग्रवाल नेपाल उद्योग परिसंघका उपाध्यक्षसमेत हुन् । देशले दैनिक १६ घण्टा लोडसेडिङ खेपिरहेका बेला शंकर समूहको जगदम्बा स्टिलले लोडसेडिङका बेला डेडिकेटेड लाइन लिएबापतको करिब अढाई अर्ब रुपैयाँ बक्यौता विद्युत् प्राधिकरणलाई तिर्न बाँकी छ ।
लोडसेडिङका बेला प्राधिकरणको नेतृत्वसँग ‘सेटिङ’ मिलाएर डेडिकेटेड फिडर लिएको उनी नेतृत्वको समूहमाथि आरोप छ । कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक भएपछि बक्यौता उठाउन खोजे पनि समूहको पहुँच र सरकारी हस्तक्षेपका कारण उठ्न सकेको छैन ।
यसरी छुटेका थिए अग्रवाल
व्यवसायी अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले गत २०७६ चैत २५ गते पक्राउ गरी २०७७ वैशाख १८ गते तारेखमा रिहा गरेको थियो । त्यो समयमा अग्रवालको बयान लिएको र बाँकी अनुसन्धान लकडाउनपछि गर्ने भन्दै विभागले तारेखमा छोडेको थियो ।
अग्रवाललाई काठमाडौं जिल्ला अदालतले २५ लाख ५० हजार धरौटीमा छाड्ने आदेश दिएलगत्तै प्रहरीले पुनः पक्राउ गरेर सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको थियो । बजार मूल्य पाँच हजार रहेको भनिएको ज्वरो नाप्ने थर्मल गन १५ हजार रुपैयाँमा बेचेको आरोपमा प्रहरीले अग्रवाललाई नक्सालबाट पक्राउ गरेको थियो ।
अचम्मको कुरा त के छ भने प्रहरीले थप कारबाहीका लागि पठाएका अग्रवाललाई विभागले रहस्यमय तरिकाले चार घण्टामै छाडेको थियो । उनीसँग कार्यालय समयपछि पनि बयान लिएर राति साढे ८ बजे छोडिएको थियो । सरकारी वकिलकोमा मेडिकल चेक गराएर लानुपर्नेमा उनलाई विभागमै कागजी रूपमा प्रक्रिया पूरा गरी छाडिएको थियो । यसबाट उनको पहुँच कहाँसम्म छ भन्नेसमेत प्रस्ट हुन्छ । सरकारले तत्कालका लागि जगदम्बा रड उत्पादनमा रोक लगाए पनि अग्रवालले यसअघि गरेका कामहरूको पनि छानबिन हुनु जरुरी छ । ईहिमालय टाईम्सबाट
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij