२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

जेसीज सप्ताह–२०२१ मा विभिन्न कार्यक्रम हुँदै

बुधवार , श्रावण २७, २०७८

भैरहवा, २७ साउन ।
जेसीआई सिद्धार्थ, नेपालले जेसीज सप्ताह–२०२१ मनाउने भएको छ । सप्ताह अन्तर्गत साउन २९ गतेदेखि भदौ ५ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गर्ने संस्थाले जनाएको छ । बुधबार जेसीआई सिद्धार्थ, नेपालले बुधबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी सप्ताहबारे जानकारी गराएको छ ।सप्ताह अन्तर्गत साउन २९ गते होटल पौवामा जेसीज सप्ताह समुद्घाटन तथा शैक्षिक सामग्री वितरण, साउन ३० गते होटल पौवामा ग्रोथ योर लाइफ विषक उत्प्रेरणात्मक तालिम कार्यक्रम, साउन ३१ गते सिद्धार्थनगर–८ वी.पी. पथस्थित फुडसल ग्राउण्डमा मैत्रीपूर्ण फूटसल प्रतियोगिता, साउन ३२ गते सिद्धार्थ बालगृहमा चित्रकला प्रतियोगिता तथा खिर खुवाउने कार्यक्रम, भदौ १ गते भानु माध्यमिक विद्यालयमा निःशुल्क दन्त शिविर, भदौ २ गते काशी नोबल एकेडेमीमा खुल्ला कविता प्रतियोगिता र भदौ ५ गते होटल पौवामा समापन तथा पुरस्कार वितरण गरिने जेसीआई सप्ताह निर्देशक दिपक काफ्लेले बताए । ७ वटा कार्यक्रममा ७ जनालाई कार्यक्रम संयोजकको जिम्मेवारी दिइएको र २२ जनाले प्रत्यक्ष रुपमा सहभागिता जनाउने काफ्लेले जानकारी दिए ।

पक्लिहवा माध्यमिक विद्यालयमा कक्षा ५ देखि ९ सम्म अध्ययनरत २० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिने जेसीआई सिद्धार्थ, नेपाल वर्ष–२०२१ का अध्यक्ष गोपाल ज्ञवालीले बताए । कोरोना महामारीमा स्वास्थ्य मापदण्ड अपनाएर जेसीआई सप्ताह कार्यक्रम गरिने उनले बताए । गत वर्षको जेसीज सप्ताहमा भएका कार्यक्रमहरुलाई निरन्तरता दिदै यस वर्ष केही नयाँ कार्यक्रम थपिएको जेसीआई सिद्धार्थ, नेपालका निवर्तमान अध्यक्ष मंगल भण्डारीले बताए ।

जेसीआई सिद्धार्थ, नेपालले दोस्रो लहरको कोरोना महामारीमा रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा खाद्यान्न तथा नगद सहयोग, भीम अस्पतालमा १० थान अक्सिजन सिलिण्डर सहयोग, दुर्घटनामा परेका रिक्सा चालक उमेश मुखियाको उपचार खर्च प्रदान तथा उनको परिवारलाई एक महिनाका लागि खाद्यान्न सहयोग, तिलोत्तमा–१५ कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रमलाई खाद्यान्न वितरण, सुरक्षाकर्मीहरुलाई मास्क, सेनिटाइजर, पानी तथा बिस्कुट वितरण, बिरामी तथा बिरामी कुरुवाहरुलाई निःशुल्क खाना, पानी तथा अण्डा वितरण गरिएको जेसीआई सिद्धार्थ वर्ष २०२१ का महासचिव सागर पोखरेलले बताए । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) र सिद्धार्थनगर नगरपालिकाद्वारा सिद्धार्थ बसपार्कमा सञ्चालित आइसोलेशन सेन्टरमा रहेका विरामी र विरामी कुरुवाहरु गरी ३३ दिन करिब ७ हजार जनालाई खाना खुवाइएको पोखरेलले जानकारी दिए । त्यस्तै वृक्षारोपण कार्यक्रम, २०७८ सालको भित्तेपात्रो प्रकाशन  लगायतका विभिन्न कार्यक्रम गरिएको जेसीआई सिद्धार्थ, नेपालले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी प्रेस क्लबका निवर्तमान अध्यक्ष दीपेश पछाईले जेसीआई सप्ताहले गरेका कार्यक्रमहरु प्रभाविकारिताबारे बुझ्न अनुगमन आवश्यक रहेको बताए ।  जेसीआई सिद्धार्थ, नेपालका पूर्व अध्यक्ष विजय शर्माले जेसीज सप्ताह सफल बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै आफूले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा लोकमणि भट्टराईले आस्था पाठ गरेका थिए ।