सोमवार , श्रावण ११, २०७८
बुटवल, ११ साउन ।
नवनिर्वाचित लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिव भीम वलीसहित टिमलाई नेपाल सितोरियो कराँते–डो परिवार, बुटवल रूपन्देहीले सम्मान तथा स्वागत गरेको छ । मणिग्रामस्थित छहारी क्लबमा सोमवार एक कार्यक्रममा परिषद्का कोषाध्यक्ष कृष्ण प्रसाद देवकोटा, सदस्यहरु उमा अधिकारी, सन्देश चापागाईं, कृष्ण कुमाललाई सिनियर खेलाडी तथा नेपाल सितोरियो कराते संघ रुपन्देहीका उपाध्यक्ष बासु बस्यालले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रमका सदस्य सचिव ओलीले प्रदेश खेलकुदको विकास रुपन्देहीबाट सुरुवात हुने बताए । आठौं राष्ट्रिय प्रतियोगितामा नेपालगंज, दाङ भौतिक पूर्वाधार विकास भइसकेको भन्दै अब रुपन्देहीमा लगानी गरिने उनले बताए ।
कार्यक्रममा बासु बस्यालले मार्शल आर्ट अन्तर्राष्ट्रिय रुपमा नाम कमाएको खेलप्रति सरकारबाट पुर्वाधार विकासमा ध्यान जान नसकेको दुःखेसो गरे । कोभिड संक्रमणको विषम परिस्थितिमा खेलाडीहरुलाई खोपमा प्राथमिकता दिनुपर्ने समेत उनले बताए। कराँते खेलको विकासमा लामो समयदेखि प्रशिक्षण गराउँदै आएका प्रशिक्षक एवं कराते संघ रूपन्देहीका पूर्व अध्यक्ष उमेश थापालाई दोसल्ला ओढाएर मायाको चिनोसहित सम्मानित गरिएको थियो ।
कार्यक्रममा नेपाल कराँते संघका केन्द्रीय सदस्य अमीर राई, कराँतेका सिनियर खेलाडी एवं कराँते संघ रुपन्देहीका सचिव मीनराज गिरी, राष्ट्रिय खेलाडी प्रेम बहादुर राना, रश्मी पाण्डेले नियमित खेल गतिविधिलाई जोड्नुपर्ने बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij