images

आइतवार, बैशाख २३ गते २०८१

बुद्धमंगल तालबीचमा बुद्धमूर्ति : बौद्धकालीन सभ्यता र पर्यटकीय आकर्षण

बुद्धमंगल तालबीचमा बुद्धमूर्ति : बौद्धकालीन सभ्यता र पर्यटकीय आकर्षण

images
images
images
बिहिवार, आषाढ २४ २०७८
बिहिवार, आषाढ २४ २०७८
  • बुद्धमंगल तालबीचमा बुद्धमूर्ति : बौद्धकालीन सभ्यता र पर्यटकीय आकर्षण

    मोहन पौडेल
    परासी, २४ असार ।
    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित ऐतिहासिक एवं बुद्धकालीन पुरातात्विक महत्वको बुद्धमंगल ताललाई धार्मिक पर्यटनको केन्द्र बनाउने गरी विकास अघि बढाइएको छ । बुद्धकालीन हलिदाबसन शहरसँग मेल खाने यस क्षेत्रमा बुद्धकालीन सभ्यताको संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने गरी यहाँको विकास, संरक्षण तथा प्रवद्र्धन थालिएको हो ।

    images
    images
    images

    बर्दघाट नगरपालिका–१२ मा अवस्थित यस ताल भगवान् गौतम बुद्धसँग जोडिएकाले यहाँको ऐतिहासिकता र पर्यापर्यटन विकासका लागि काम भइरहेको बर्दघाट नगर प्रमुख धीरज शर्मा बस्यालले राससलाई जानकारी दिए । पर्यटकीय दृष्टिकोणले उत्कृष्ट गन्तव्यको सम्भावना रहेको यस क्षेत्रमा अहिले तालको बीचमा बुद्धको ठूलो मूर्ति निर्माण गरिएको छ ।

    बुद्धग्रन्थहरुमा उल्लेख गरिएअनुसार तत्कालीन कोलिय गणराज्यको हलिदावसन शहरमा बुद्ध आएर नित्य पाठ गरी शिष्यहरुलाई दीक्षित गर्नुभएको ऐतिहासिक तथ्य यसै क्षेत्रमा फेला परेकोे उनले बताए । नगरपालिकाले यस क्षेत्रलाई प्राचीन हलिदावसन शहर घोषणाको पनि तयारी गरेको छ । उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेल परेको यस क्षेत्रलाई पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न, बुद्धकालीन ऐतिहासिकतालाई जोड्न र बुद्ध परिपथमा समावेश गर्ने आधार निर्माणका लागि पनि तालको बीचमा बुद्धको मूर्ति निर्माण गरिएको उनले बताए ।

    बुद्धकालीन सभ्यतालाई झल्काउने गरी तालको बीचमा बुद्धको मूर्ति राखिएको कमै स्थान रहेकाले पनि यसको विशेष महत्व रहेको उनको भनाइ छ । नगरपालिका र लुम्बिनी प्रदेश सरकारको पहलमा अहिले यहाँ तालको सौन्दर्यीकरण र पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन् । 

    सौन्दर्यीकरणपछि अहिले ताल सुन्दर देखिएको छ । वरिष्ठ कलाकार बिके नरबहादुरले तालको बीचमा १२ फिट अग्लो बुद्धको मूर्ति निर्माण गरेका हुन् । तीन महिनामा मूर्ति निर्माण सम्पन्न भएको उनले बताए । “तालको बीचमा मूर्ति निर्माण आफैमा ऐतिहासिकता र चुनौती हो”, उनले भने, “यस किसिमका प्राचीन र कलात्मक मूर्ति र चित्रले बुद्धकालीन सभ्यताको झल्को मेटाउँछ, चित्रले त्यसबेलाको संस्कृति बोल्छ, मूर्तिको आफैँमा विशेष महत्व छ ।”

    परासी–त्रिवेणी हुलाकी सडकबाट आधा किलोमिटर उत्तरतर्फ सुन्दर र रमणीय वातावरणमा अवस्थित यो ताल क्षेत्र करिब सात बिघा क्षेत्रफलमा फैलिएको बुद्धमूर्ति निर्माण समितिका सचिव मनोज पौडेलले बताए । उनका अनुसार ताल वरपर सरस्वतीको मन्दिर, शिवालय, बुद्धमार्गीको गुम्बा, १०८ शिवलिङ्ग, प्रतीक्षालय, सामुदायिक वन लगायतका प्राकृतिक तथा भौतिक संरचनाको निर्माण तथा विकास गरिएको छ । हाल यहाँ जलदेवी मन्दिरको निर्माणकार्य पनि भइरहेको निर्माण समितिका अध्यक्ष प्रेमबहादुर शाहीले जानकारी दिए ।

    थारू समुदायले विशेष आस्थाको रूपमा मान्दै आएको जलदेवीको मन्दिर पुरानो भएपछि अहिले स्थानीय राधाकृष्ण बुद्धमंगल ताल भजन समूहको पहलमा मन्दिर निर्माण थालिएको उनले बताए । बुद्धमंगल जागृति महिला सामुदायिक वन उपभोक्ता समूहअन्र्तगत स्थानीय क्लब र स्थानीय बासिन्दा यस तालको सौन्दर्य वृद्धि र संरक्षण निरन्तर लागिरहेका छन् ।
    स्थानीय दीप प्रकाश लोहनीका अनुसार गौतम बुद्ध काठमाडौँ खाल्डो जाने क्रममा मनोरम यो ताल देखेपछि आफ्नो अनुयायीसहित यसै ताल छेउ राति बास बस्नुभएको र सो बसाइँको क्रममा स्थानीयवासी दुई जमिन्दार भाइ दबिला र मंगललाई आफ्नो प्रवचनबाट दीक्षित बनाएको इतिहास छ । ती दुई दाजुभाइमध्ये दबिलाको नामबाट आज पनि दुई गाउँ (पुरानो दबिला, नयाँ दबिला) रहेका छन् भने मंगलको नाउँ अगाडि बुद्धसमेत जोडी बुद्धमंगल ताल नामाकरण गरिएको छ ।

    तत्कालीन समयमा घना जङ्गलबीच शान्त ताल रहनु र यस क्षेत्रमै नारायणी नदी पछि जल सुन्दरताका हिसाबले यही ताल नै उत्कृष्ट रहनुले पनि बुद्ध जीवनी, बौद्ध धार्मिक ग्रन्थहरुको मिहीन अध्ययन र अनुसन्धान हुने हो भने यस सम्बन्धमा थप तथ्यहरु फेला पर्ने उनको भनाइ छ ।

    सिमसार क्षेत्र भएकाले विविध जलचर र ताल किनारमा सामुदायिक वनको समेत विकास गरिएकाले चराचुरुङ्गीको बासस्थानका रुपमा यो ताल रहन पुगेको छ । त्रिवेणीबाट कपिलवस्तुसम्मको क्षेत्र लुम्बिनी बुद्ध परिपथ अन्तर्गत पर्ने अत्यन्त महत्वपूर्ण क्षेत्र हो । तसर्थ पनि यस क्षेत्रलाई बुद्धपरिपथमा समावेश गर्नुपर्ने आवाज उठ्दै आएको छ । लुम्बिनी घुमेर फर्कने आन्तरिक तथा विदेशी पर्यटकलाई नवलपरासीको रामग्राम स्तुप हुँदै यहाँसम्म ल्याउन सके यहाँको पर्यटन व्यवसाय तथा स्थानीयवासीको आर्थिक उन्नतिमा पनि  टेवा पुग्ने स्थानीयवासीको विश्वास छ । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij