२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

ईलाका प्रहरी कार्यालय केवलानीलाई ‘क’ श्रेणीमा स्तरोन्नति गर्ने पहल

बुधवार , आषाढ २३, २०७८


भैरहवा, २३ असार ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नम्बर ७ केवलानीस्थित ईलाका प्रहरी कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नति गर्न आवश्यक तयारी अघि बढेको छ । नगरपालिकालाई मुख्य कार्यक्षेत्र बनाएर हालको ‘ख’ श्रेणीको ईलाका प्रहरी कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नति गर्न तिलोत्तमा नगरपालिकाले आवश्यक पहल अघि बढाएको हो ।

तिलोत्तमा नगरपालिकामा जनसंख्याको चाप दिनप्रतिदिन बढ्दै गएको र नगरपालिकाको भुगोल पनि ठूलो रहेकोले ईलाका प्रहरी कार्यालयको स्तरोन्नति अपरिहार्य रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्रहरी कार्यालयको स्तरोन्नतिको लागि आवश्यक पहल गरिरहँदा बुधबार लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी मुकुन्दराज आचार्य नेतृत्वको प्रहरी अधिकारीको टोलीले प्रहरी कार्यालयको स्थलगत अनुगमन गरेको छ ।

रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी मनोज कुमार केसी समेत सहभागि रहेको टोलीले प्रहरी कार्यालय परिसरमा पूर्वाधार विस्तारको सम्भावना, भौगोलिक अवस्थितको विषयमा स्थलगत निरीक्षण गर्नुको साथैं जनप्रतिनिधिहरुसंग छलफल गरेको छ । त्यसक्रममा कार्यवाहक नगरप्रमुख जगेश्वरदेवी चौधरीले जनसंख्याको चापको कारण प्रहरी कार्यालयको स्तरोन्नति अपरिहार्य रहेको बताइन् । 

त्यस्तै नेकपा एमालेका नेता यज्ञ गैरे, वडाध्यक्ष दुर्गाप्रसाद पाण्डे, प्रवक्ता सुरेन्द्र श्रीलगायतले पनि प्रहरी कार्यालय  स्तरोन्नतिको आवश्यकता र औचित्यको बारेमा प्रकाश पारेका थिए । 

प्रदेश प्रहरी प्रमुख डीआइजी मुकुन्दराज आचार्यले प्रहरी कार्यालयको स्तरोन्नति गरी प्रहरी निरीक्षकको कमाण्डमा जनशक्ति व्यवस्थापन गर्ने आवश्यक आधार पर्याप्त देखिएकोले यस विषयमा माथिल्लो निकायमा जानकारी गराउने बताए । 

प्रहरी कार्यालय स्तरोन्नतिको विषयलाई लिएर आवश्यक पहल गर्न नगरप्रमुख बासुदेव घिमिरे काठमाडौं भइरहँदा बुधबार प्रहरी अधिकारीहरुको टोलीले ईलाका प्रहरी कार्यालयको स्थलगत निरीक्षण गरेको हो । गृहमन्त्रीको समेत जिम्मेवारीमा अर्थमन्त्री विष्णु पौडेल रहनु भएकोले प्रहरी कार्यालयको स्तरोन्नतिको काम सहजताको साथ अघि बढेको नगर प्रमुख घिमिरेको भनाइ छ । जिल्ला सुरक्षा समिति रुपन्देहीको बैठकले स्तरोन्नतिको लागि आवश्यक निर्णय गरी गृह मन्त्रालय पठाइसकेको बताइएको छ ।