
मंगलवार , आषाढ १५, २०७८
बुटवल, १५ असार ।
अखिल नेपाल किसान महासंघ रुपन्देहीले रोपाई गरेर राष्ट्रिय धान दिवस मनाएको छ । बुटवल उपमहानगरपालिका–१२ स्थित सिद्धबाबा तरकारी उत्पादक कृषि समूहको १४ कठ्ठा खेतमा धान रोपाई गरेर दिवस मनाएको हो । बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमा आचार्यले धान रोपेर कार्यक्रमको उद्घाटन गर्दै उपमहानगरले किसान लक्षित कार्यक्रम ल्याएर प्रोत्साहन गरेको बताइन् । उनले नेपालको प्रमुख खाद्यान्न बालीका रुपमा धान रहेकाले यसमा लागेका किसानहरुलाई स्थानीय सरकारले प्रोत्साहन गर्ने बताइन् ।
धान दिवसको अवसरमा आयोजित रोपाई कार्यक्रममा नेकपा एमाले रुपन्देहीका उपाध्यक्ष तेजेन्द्र केसी, जलश्रोत तथा सिचाई डिभिजन कार्यालयका प्रमुख टंक केसी, किसान महांसंघ रुपन्देहीका इञ्चार्ज कविराम अर्याल, महासंघ रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पन्थी, उपाध्यक्ष लक्ष्मण भण्डारी, प्रदेश सदस्य तथा रुपन्देही सचिव मधुकला कुँवर, सिद्धबाबा तरकारी उत्पादक कृषक समूह बुटवल–१२ का अध्यक्ष छविलाल बस्याल लगायतले बोल्दै किसानहरुलाई शुभकामना दिए । उक्त अवसरमा दही चिउरा समेत खुवाइएको थियो । यो वर्ष ‘धान उत्पादनमा वृद्धि ः खाद्यसुरक्षा, आत्मनिर्भरता र समृद्धि’ को नाराका साथ धान दिवस मनाइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij