२०८३, कार्तिक १ गते

Oct 17 2026 | २०८३, कार्तिक १ गते

दशैंको मौलिकता जोगाउन किशोरपुरमा लिङ्गे पिङ

शनिवार , कार्तिक १, २०८३

  • 250
    Shares
  • 250
    Shares
  • भैरहवा, ३१ असोज । नेपाली मौलिक संस्कृति तथा दशैंको परम्परागत पहिचान संरक्षण गर्ने उद्देश्यले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ स्थित किशोरपुरमा लिङ्गे पिङ स्थापना गरिएको छ ।

    श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर–३, ५ र ६ को पहलमा स्थापना गरिएको पिङको फूलपातीका दिन (आज) उद्घाटन गरिएको हो । होटल एशोसिएसन अफ नेपाल (हान) लुम्बिनी प्रदेशका अध्यक्ष एवं केन्द्रका सल्लाहकार चन्द्रप्रकाश श्रेष्ठले पिङको उद्घाटन गर्नुभएको थियो ।

    wwd.jpg

    सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गण हेडक्वार्टर रुपन्देहीको प्राविधिक सहयोग तथा दुर्गाकलोनी निवासी चन्द्रबहादुर केसीको मुख्य सौजन्यमा पिङ निर्माण गरिएको केन्द्रले जनाएको छ ।

    केन्द्रका अध्यक्ष अजय कुमार गुप्ताले लिङ्गे पिङ नेपाली संस्कृति र दशैंको पहिचानसँग जोडिएको परम्परागत खेल भएकाले यसको संरक्षण र निरन्तरताका लागि पहल गरिएको बताउनुभयो । नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृति र परम्परासँग परिचित गराउनुका साथै दशैंमा सामूहिक रूपमा रमाइलो गर्ने वातावरण बनाउन पिङ स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

    dddw.jpg

    आधुनिक जीवनशैली र मनोरञ्जनका नयाँ साधनको विस्तारसँगै कतिपय स्थानमा लिङ्गे पिङ खेल्ने परम्परा ओझेलमा पर्दै गएको छ । दशैंमा पिङ खेल्ने चलनले मनोरञ्जन प्रदान गर्नुका साथै परिवार, छिमेकी र समुदायबीच आपसी सद्भाव तथा एकता बढाउनसमेत सहयोग पुर्‍याउँदै आएको छ ।

    उद्घाटन कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले लोप हुँदै गएको परम्पराको संरक्षणमा सामुदायिक संस्थाले गरेको प्रयासको प्रशंसा गर्नुभयो । यस्ता गतिविधिले नेपाली कला, संस्कृति र मौलिक पहिचान जोगाउन योगदान पुर्‍याउने उहाँले बताउनुभयो ।

    यसैबीच फूलपातीका दिन बिहान ८ बजे शुभसाइतमा फूलपाती भित्र्याउने कार्यक्रमसमेत सम्पन्न भएको थियो । बाजागाजासहित मन्दिरबाट निस्किएको टोलीले चोक परिक्रमा गरेको थियो ।

    asdf.jpg

    कार्यक्रममा केन्द्रका पदाधिकारी, सल्लाहकार, स्थानीय महिला अगुवा शकुन्तला अधिकारी, सञ्चिता अर्याललगायत स्थानीय बासिन्दाको सहभागिता थियो । सहभागीहरूले पिङ खेल्दै दशैंको खुसी साटासाट गरेका थिए ।

    केन्द्रले पिङ निर्माणमा प्राविधिक सहयोग गर्ने सशस्त्र प्रहरी बल रुपन्देही, मुख्य सौजन्य गर्ने केसी तथा कार्यक्रममा सहभागी स्थानीय बासिन्दाप्रति आभार व्यक्त गरेको छ । कार्यक्रम सञ्चालन केन्द्रका सल्लाहकार आनन्द न्यौपानेले गर्नुभएको थियो ।

    WhatsApp Image 2026-10-17 at 10.53.59 AM (4).jpeg

    किशोरपुरमा स्थापना गरिएको लिङ्गे पिङले भैरहवा तथा आसपासका बासिन्दालाई परम्परागत खेलको आनन्द लिन अवसर प्रदान गर्नुका साथै मौलिक संस्कृति संरक्षण र सामाजिक सद्भाव प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।