
भारतीय केरा आयातमा रोक लगाउन माग
शनिवार , भाद्र १३, २०७७
परासी, १३ भदौ ।
नेपाली बजारमा भारतीय केराको व्यापक आयातले नेपाली केरा किसानहरु समस्यामा परेका छन् । खेतमा तयार केरा विक्री वितरण नभइहेकाले केरा बोटमै पाकेर कुहिन थालेपछि किसानहरु चिन्तित बनेका हुन् ।
एकातिर खेतमा तयार रहेको केरा जिल्ला जिल्लामा निषेधाज्ञा र कोरोनाको महामारीका कारण विक्री वितरण भइहेको छैन, अर्काेतर्फ भारतीय सस्तो केरा नेपाली बजारमा व्यापक आयात भइरहेकोले नेपाली केराले बजार नपाइरहेको केरा उत्पादक संघका अध्यक्ष लख्खु यादव बताउछन् । भारतीय सस्तो केरा नेपाली बजारमा भित्रिदा कोरोना नलाग्ने र नेपालमै उत्पादित केरा बजार पु¥याउँदा कोरोनाको संक्रमण फैलिन भन्दै विभिन्न स्थानीय तहका जनप्रतिनिधि र स्थानीय प्रहरी प्रशासनले केरा ढुवानीमा अवरोध खडा गर्दै आएको अध्यक्ष यादवले आरोप लगाए ।
‘‘हिन्दु धर्मावलम्बीहरुको महान चाडपर्वहरु आइरहेको छ केराको सिजन र बढी विक्री हुने बेला यही भए पनि नेपालमा बढ्दो कोरोना भाइरसको संक्रमणले जिल्ला जिल्लाहरुमा निषेधाज्ञाका कारण हाम्रो केराहरु बजार पुग्न सकेको छैन’ किसान संजय कुश्वाहा बताए । उनी भन्छन् ‘हामीले जग्गा लिजमा लिइ बंैकबाट ऋण निकालेर केरा खेती गरेका छौं, तर हाम्रोे उत्पादित केरा समयमै विक्री भएन भने हामीले आर्थिक व्यवहार मिलाउन त पर जाओस केरा खेतमै कुहिएर हामीलाई ठुलो नोक्सानी व्यहोर्न पर्छ ।’
भारतीय केरा थोकमा, प्रतिदर्जन १५ देखि २० रुपैयाँमा पाइने हुँदा उक्त केरा नेपाली केरा भन्दा १५ रुपैयाँ सस्तो पर्न जान्छ । अहिले जिल्लामा केरा प्रतिदर्जन ३५ रुपैयाँ छ । भन्सार, क्वारेन्टाइन र एजेण्टहरुको सेटिङमा व्यापारीहरु सस्तोमा केरा आयात सहजै आयात गर्न पाएपछि व्यापारीहरु नेपाली केरातर्फ ध्यानै दिएका छैनन् । केरामा आत्मनिर्भर बन्न यहँँका किसानहरु व्यवसायक रुपमा केराखेती गरी राम्रो उत्पादन गरेपछि कोरोना भाइरसको संक्रमण फैलिने र महंगीको नाममा केरा विक्री नभएपछि किसानहरु मर्कामा परेका छन् । तयार केरा विक्री नभएपछि हामी किसानहरुलाई खेतलालाई ज्याला दिन, मल, विउबिजन खरिन गर्न, बंैकको ब्याज तिर्न र घर व्यवहार समेत मिलाउन अप्ठयारो भएको छ, स्थानीय केरा किसान बेचन कुश्वाहाले दुःखेसो पोखे ।
जिल्लामा कुल २५ सय विगाहा क्षेत्रफलमा केराखेती गरिएको छ । यसमा २४ सय घरधुरी आवद्ध छन् । किसानहरु प्रतिकट्टामा १० घर केरा अर्थात प्रतिकट्टा २५ क्वीन्टल केरा उत्पादन गर्दै आएका छन् । यसरी २५ सय विगाहामा गरिएको केरा खेतीबाट वार्षिक १ लाख २५ हजार टन केरा उत्पादन हुने गर्दछ तर यस वर्ष केराले बजार नपाएपछि किसानहरुलाई ठूलो नोक्सान हुने चिन्ताले थपिएको छ ।
केराको मुख्य पकेट क्षेत्र गण्डक कमाण्ड क्षेत्रका सुस्ता र प्रतापपुर गाउँपालिका रहेको छ । जिल्लामा कृषकहरुले टिसु कल्चर, जि नाइन, रोबेष्टा, हरिछाल, भिम प्लस, मालभोग, बिलियम हाईब्रिड उन्नत जातका केरा खेती गर्दै आएका छन् जसको मुख्य बजार नारायण घाट, बुटवल, भैरहवा, पोखरा,काठमाडौं, मुग्लिङ लगायतका बजारहरु हुन् ।
समस्यामा परेका किसानहरु भारतीय केरा आयातमा रोक लगाउन र नेपाली केराको सहज विक्री वितरणका लागि वातावरण बनाइदिन सरकारालाई आग्रह गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij