२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

एमाले रुपन्देहीले संविधान दिवस मनाउने

बिहिवार , आश्विन २, २०८२

  • 313
    Shares
  • 313
    Shares
  • बुटवल, २ असोज । नेकपा (एमाले) जिल्ला कमिटी, रुपन्देहीले शुक्रबार संविधान दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ । बिहीबार बुटवलमा बसेको जिल्ला सचिवालयको बैठकले विगतका वर्षहरू जस्तै यस वर्ष पनि संविधान दिवसलाई भव्य रूपमा मनाउने निर्णय गरेको हो । 

    एमाले रुपन्देहीले बुटवल सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनमा बिहान ८ बजे मनाइने संविधान दिवस समारोहमा सहभागी हुन पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आग्रह समेत गरेको छ ।
    पार्टीका पोलिटब्यूरो सदस्य लिला गिरीको प्रमुख आतिथ्यतामा बसेको बैठकले गत भदौ २३ र २४ गते जेनजीहरूको आन्दोलनको क्रममा निधन भएकाहरूप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

    साथै भदौ २४ गतेको प्रदर्शनको क्रममा सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान, निजी आवास र राजनीतिक दलहरूका पार्टी कार्यालयमा भएको आगजनी, तोडफोड र लुटपाटको घटनाप्रति दुःख व्यक्त गर्दै उक्त कार्यको छानबीन गरी दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको छ ।

    उक्त प्रदर्शनको क्रममा रुपन्देहीमा पनि सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान, निजी आवास र राजनीतिक दलका पार्टी कार्यालय गरी ५ दर्जन बढी कार्यालयमा आगजनी, तोडफोड र लुटपाट भएको थियो । प्रदर्शनकारीहरूले दर्जनौं सवारीसाधनमा पनि आगजनी र तोडफोड गरेका थिए ।

    बैठकमा सहभागी नेताहरूले जिल्लाका सबै पालिका कमिटी र जनसंगठनका बैठक बसी भदौ २३ र २४ गतेको घटनाको समीक्षा र पार्टीलाई सुझाव दिन निर्देशन दिएको छ । एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेको अध्यक्षतामा बसेको बैठकमा सहभागी सचिवालय सदस्यहरूले उक्त घटनाको समीक्षा गर्दै पार्टीलाई सुझाव दिएका थिए । 

    जिल्ला प्रचार विभाग प्रमुख मीन प्रसाद पौडेलका अनुसार भदौ २४ गतेपछि उत्पन्न परिस्थिति र पार्टीले भोग्नुपरेको चुनौतीलाई कसरी सामना गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । बैठकमा पोलिटब्यूरो सदस्यहरू लिला गिरी, दधिराम न्यौपाने, केन्द्रीय सदस्यद्वय शिवराज सुवेदी, सावित्रा देवी अर्याल, लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, उपाध्यक्ष भोज प्रसाद श्रेष्ठले जस्तोसुकै चुनौतीका बाबजुद पनि अझ एकताबद्ध बनाउँदै नागरिकको पक्षमा सशक्त आवाज उठाउने गरी अगाडी बढाउनुपर्ने बताउनुभयो ।