images

शुक्रवार, बैशाख ७ गते २०८१

जनताको सेवा गर्ने मौका पाएकी छु : मन्त्री कल्पना पाण्डे

जनताको सेवा गर्ने मौका पाएकी छु : मन्त्री कल्पना पाण्डे

images
images
images
शुक्रवार, आषाढ ११ २०७८
शुक्रवार, आषाढ ११ २०७८
  • जनताको सेवा गर्ने मौका पाएकी छु : मन्त्री कल्पना पाण्डे

    भैरहवा, ११ असार

    images
    images
    images

    तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) हाल जनता समाजवादी पार्टी, नेपाल (जसपा) नेतृ कल्पना पाण्डे लुम्बिनी प्रदेश सरकारमा उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् । करिब १२ वर्ष शिक्षण पेशामा आबद्ध पाण्डे तत्कालिन राजपाबाट प्रदेशसभा सदस्य भइ अहिले प्रदेश सरकारको मन्त्रीको जिम्मेवारीको सम्हालेकी छन् । प्रस्तुत छ खबरपात्रोले मन्त्री पाण्डेसंग गरेको कुराकानीको सम्पादित अशं :

    १. राजनीति क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ? तत्कालिन राजपा (हाल जसपा) नै किन रोज्नुभयो ?

    अर्घाखाँचीमा अध्ययन गर्दै र शिक्षण पेशालाई समेत निरन्तरता दिदै जाँदा मलाई तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल हाल जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सूचीबाट प्रदेशसभा सदस्य बनायो । मैले करिब १२ वर्ष शिक्षण पेशा गरे । जसपाले मलाई रोज्यो । शिक्षिकाको रुपमा कार्यरत रहदारहदै म सांसद बन्न पुगे । मैले पनि तत्कालिन राजपालाई रोजे । यो पार्टीलाई स्थापनाको सुरुवाती चरणमा मधेश केन्द्रीत दल भनेर चिनिन्थ्यो । तर यो पार्टीले पहाडी समुदायबाट पनि सांसदको रुपमा प्रतिनिधित्व गरायो । त्यसैले जसपा हिमाल, पहाड, तराई मधेश सबैलाई समेट्ने पार्टी बनेको छ । तत्कालिन राजपा र समाजवादी पार्टीबीच एकीकरण भएपछि बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा) मुलुककै वैकल्पिक शक्ति बनेको छ र अहिले यो पार्टी निर्णायक रुपमा अगाडी बढेको छ । मलाई सांसद बन्ने अवसर प्रदान गर्ने तत्कालिन राजपा (हाल जसपा)लाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।

    २. तपाई  वैशाख ६ गते लुम्बिनी प्रदेश सरकारको शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभयो । पछि वैशाख १९ गते मन्त्रीपरिषद् पुनर्गठन हुँदा उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा पुग्नुभयो । जसपाका अन्य मन्त्रीको पद यथावत रहँदा यहाँकै जिम्मेवारी किन हेरफेर भयो ?

    पहिला मैले सामाजिक विकास मन्त्रालय नै सम्हालेको थिए । म महिला भएकोले सामाजिक विकास मन्त्रालयमार्फत महिलाको क्षेत्रमा धेरै काम गर्न सकिन्छ भन्ने आंकाक्षा थियो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय शंकर पोखरेलले पनि कुन मन्त्रालयको जिम्मेवारी लिन चाहनुहुन्छ भनेर सोध्नुभएको थियो । तर पछि मन्त्रीपरिषद् पुर्नगठन हुँदा उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेको हुँ । मन्त्रालय हेरफरको हुनुको त्यस्तो खास कारण छैन । जहाँ भए पनि जनताको लागि काम गर्ने हो । मन्त्रालयको जिम्मेवारी सम्हालेसंगै मलाई उद्योग, वन तथा वातावरणको क्षेत्रमा काम गर्नेतर्फ रुची बढ्दै गएको छ ।

    ३. प्रदेशसभा सदस्य भन्दा मन्त्री भएर काम गर्दा कत्तिको फरक अनुभुति गर्नुभएको छ ?

    प्रदेशसभा सदस्यको मात्र जिम्मेवारीमा हुँदा जनताको गुनासोलाई लिएर मन्त्रालय पुग्ने गर्दथे । तर अहिले आफै गुनासो सुन्ने ठाउँ अर्थात मन्त्रालयमा पुगेको छु । जनताको सेवा गर्ने मौका पाएकी छु ।

    ४. पार्टीको निर्णयविपरीत मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा जसपाका ४ जना सांसदहरु सहभागि हुनुभएको छ । पार्टीको निर्णयविपरीत सरकारमा जानुपर्ने कारण के होला ?

    पार्टीको निर्णयविपरीत हामी कसरी गयौं ? पार्टीमा आबद्ध भइसकेपछि त एउटा व्यक्तिले भनेर मान्नु कुरा हँदैन । हामी पार्टीको प्रथम अध्यक्ष महन्थ ठाकुरलाई सोधेर नै सरकारमा सहभागि भएका हौं । पार्टीको अध्यक्षले भनेपछि हामी सरकारका सहभागि भएपछि पार्टीको निर्देशनविपरीत गएका हौं भन्न मिल्छ ? फेरी बहुमत सांसदहरु नै सरकारमा गएका छौं । एउटा व्यक्तिको कुरा मात्र मान्न सकिदैन । जसपा कुनै व्यक्तिको होइन, यो पार्टी हो । यो पार्टीमा एउटा व्यक्तिको कुराको धेरै महत्व हुँदैन । हामी व्यक्तिका पछाडी लाग्दैनौ । नितान्त पार्टीकै एजेण्डा बोकेर सरकारमा गएका हौं । लुम्बिनी प्रदेश सरकारमा सहभागि हनु अघि सरकारसंग केही सहमति गरेका छौं । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले हामीले उठाएका मुद्दा सम्बोधन गर्न संघीय सरकारसंग समन्वय गर्नुभएको छ । सरकारमा गएपछि बन्दी रिहाई, अध्यादेशमार्फत नागरिकताको एजेण्डा लगायतका विषयहरु सम्बोधन भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न र यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ । सांसद रेशम चौधरीको रिहाईको लागि पनि कदम अगाडी बढेको छ । हामी केवल सत्ता प्राप्तीका लागि सरकारमा गएका होइनौ । यस अघि तत्कालिन राजपा पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सहभागि भएको थिएन । त्यसै गरी हामीले संविधानमा भएका त्रुटिहरुलाई संशोधन गरेर सच्याउन माग गर्दै आएका छौं । तसर्थ हामी व्यक्तिको टिप्पणी मान्दैनौ । पार्टीको कुरा मान्छौं ।

    ५. लुम्बिनी प्रदेशमा रहेका जसपाका ६ जना सांसदमध्ये ४ जना सरकारमा हुनुहुन्छ । अन्य २ जना सांसदहरु सरकारको प्रतिपक्षमा हुनुहुन्छ । तपाईहरु ६ जना नै सरकारमा सहभागि भएको भए अथवा ६ जना प्रतिपक्षमा बस्नुभएको भए हुँदैन थियो  ?

    होइन, सरकार बाहिर रहेका २ जना सांसदलाई अहिले पनि सरकारमा सहभागिताको लागि स्वागत गर्न हामी तयार छौं । जसपा संसदीय दलमा पनि हामी दुईतिहाई बहुमतमा छौं ।

    ६. मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार अल्पमत छ भनेर कांग्रेस, माओवादी केन्द्र, जसपा (उपेन्द्र यादव समुह) र जनमोर्चाले मुख्यमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने भन्दै आएका छन् । तपाईहरु अल्पमतमा रहेको सरकारमा कतिसमय सम्म बस्ने ?

    मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा छ भन्ने कुरामा सत्यता छैन् । यो सरकार अल्पमतमा नभइ बहमुतमा छ । शंकर पोखरेलले संविधानको धारा १६८ (१) बमोजिम वैशाख १९ गते बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी गर्नुभएको थियो । संसदमा सबैभन्दा ठूलो दल एमालेले बहुमत सांसदको हस्ताक्षरसहितको दावी पेश गरेपछि प्रदेश प्रमुखको कार्यालयले शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेको हो । अन्य पार्टीका सांसदलाई राजनीमा गराउने, दल परिवर्तन गराउने कुरा त भएकै हो नी । विरोधको नाममा विरोध भइरहेको छ ।

    ७.  चार जना सांसद सरकारमा सहभागि भएपछि लुम्बिनी प्रदेशमा जसपाका सांसद दुई कित्तामा विभाजित भएका छन् । एउटा पक्षले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने होडबाजी नै चलेको देखिन्छ । तपाईहरु एक भएर जाँदा हुँदैन  ?

    जसपा संसदीय दलको निर्णयविपरीत दुई जना सांसदहरु अगाडी बढ्नु भएकोले संसदीय दलका नेता तथा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयको अध्यक्षतामा बसेको बैठकले स्पष्टीकरण सोधेको हो । पटकपटक उहाँहरुले संसदीय दलको ह्वीप नमान्नुभएकोले स्पष्टीकरण सोधिएको हो । संसदीय दलमा हामी बहुमतमा छौं । त्यसैले उहाँहरुले सोध्नुभएको स्पष्टीकरणको अर्थ छैन ।

    ८. तपाई मन्त्री भएपछिको अवधिमा मुख्य रुपमा मन्त्रालयमा के के कार्यहरु सम्पन्न भएका छन् ।

    मन्त्री भएको करिब एक महिना पुग्न थालेको छ । यो अवधिमा प्रदेश सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । उद्योगतर्फको कुरा गर्दा कागज उद्योग, जडीबुटी उद्योग स्थापना, पालिकास्तरीय नवप्रबद्र्धनात्मक कार्यक्रम, सीपमूलक कार्यक्रम, मागमा आधारित कार्यक्रम गर्ने भनेर नीति ल्याएका छौं । कार्यक्रमहरुलाई अगाडी बढाउन बजेट ल्याएका छौं । खेर गइरहेका कच्चा पदार्थको सदुपयोग गर्दै कच्चा पदार्थलाई कागजमा परिणत गर्न कागज उद्योगको एजेण्डा ल्याएको छौं । रुकुममा सुलभ खाद्य पसल सञ्चालन गर्न कार्यक्रम ल्याएका छौं । त्यस्तै एकल महिलाको लागि कार्यक्रम, एक सय वटा उद्योगसंग सहकार्य गर्दै यो वर्ष नितान्त उद्योगी÷उद्यमी बनाउने कार्यक्रम ल्याएका छौं । रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम ल्याउँदैछौं । यही असार १४ गते पश्चिम नवलपरासीको जरगामा २० हजार विरुवा रोप्न वृक्षारोपण कार्यक्रम गर्दैछौं । त्यस्तै विश्व वातावरण दिवसको अवसरमा रुपन्देहीको ओमसतिया गाउँपालिकामा वृक्षारोपण कार्यक्रम गरेका थियौं ।

    ९. लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार छ । जसपाका ४ जना मन्त्री सरकारमा हुनुहुन्छ । एमालेबाट निर्वाचित अन्य मन्त्रीसंग कतिको समन्वय र सहकार्य हुन्छ ?

    सहकार्य हुन्छ । एउटा मन्त्रालयले अर्को मन्त्रालयसंग सहकार्य गरेर नै अगाडी बढेका छौं । मन्त्रीपरिषद्को सदस्य भएकाले एकले अर्कोसंग सहकार्य गरे मात्र प्रदेश सरकारको कामलाई थप प्रभावकारी बनाउन सकिन्छ ।

    १०. संघीय सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फत ल्याएको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने नीति विवादमा छ । यसले चुरे क्षेत्रको विनाश हुन्छ भन्ने कुरा आएको छ । यद्यपि ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने बजेटको नीति कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । यहाँ वातावरण मन्त्रीको हिसाबले यसबारे प्रदेश सरकारको धारणा के छ ? बताइदिनुहोस् न ।

    चुरेको संरक्षण हुनुपर्छ । वन विधेयक संसदमा टेबुल हुँदैछ । चुरेको संरक्षण गर्ने सरकारको नीति हो । चुरे क्षेत्रमा प्रदेशको एकल अधिकार छैन् । वातावरण संरक्षणका लागि चुरे क्षेत्रको संरक्षण हुनुपर्छ ।

    ११. मुलुक संघीय संरचनामा अगाडी बढिरहँदा केन्द्र र स्थानीय सरकार राखेर प्रदेश सरकारको आवश्यकता छैन् पनि भन्ने गरिन्छ ? प्रदेश सरकारले आफ्नो औचित्य पुष्टि गर्न नसकेकै हो ?

    शुन्यबाट सुरु भएको प्रदेश सरकारले बढाएको विभिन्न योजना तथा कार्यक्रममार्फत प्रदेशको विकास भइरहेको छ । कतिपय संघीय र स्थानीय सरकारले गर्न नसकेका कामहरु प्रदेश सरकारले गरिरहेको छ । प्रदेश छ र त जनताले प्रदेश सरकारको अनुभुति गर्न पाएका छन् । सानासाना सडक बनेका छन् । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा धेरै बजेट गएको छ । प्रदेश नहुँदा सीमित बजेट जान्थ्यो । संघीयता टिक्दैन र यो धरापमा पर्छ भन्ने कुरा गलत प्रचार हो । संघीयताको विरोध गर्दै आएका शक्तिले प्रदेश सरकारको विरोध गरेका हुन् ।

    १२. अन्त्यमा के भन्नहुन्छ ?

    अहिले प्रदेश सरकारको विषयमा झुटो कुरा फैलाइएको छ । व्यक्ति/समूह नभएर व्यक्तिको पछाडी लागेको समूहले गलत प्रचार गरिरहेका छ । गलत प्रचारको पछाडी नलागौं । सत्यको विजय हुने नै छ । सर्वोच्च अदालतले पनि हाम्रो सांसद पद कायम गरेको छ र यसबारे अन्तिम फैसला हुन बाँकी छ । हामीले विश्वास छ हाम्रो सांसद पद यथावत रहनेछ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij