२०८२, कार्तिक ९ गते

Oct 26 2025 | २०८२, कार्तिक ९ गते

माग सम्बोधन नभए पेनडाउन गर्ने आन्दोलनरत नर्स तथा प्यारामेडिक्स कर्मचारीहरुको चेतावनी

आइतवार , कार्तिक ९, २०८२

  • 358
    Shares
  • 358
    Shares
  • भैरहवा, ९ कार्तिक । आफूहरुको माग सम्बोधन नभए पेनडाउन गर्न बाध्य हुने युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज (युसीएमएस) शिक्षण अस्पतालका आन्दोलनरत नर्स तथा प्यारामेडिक्स कर्मचारीहरुले चेतावनी दिएका छन् । उनीहरुले शनिबार विज्ञप्ती जारी गर्दै कार्तिक ११ गते मंगलबार दिउँसो १ बजेसम्म माग सम्बोधन नभए पूर्ण रुपमा पेनडाउन गर्न बाध्य हुने चेतावनी दिएका हुन् ।

    अध्यक्ष रश्मि गहतराजद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘यस परिस्थितिमा जनमानसमा पर्न जाने असुविधाप्रति अस्पतालका सम्पूर्ण आन्दोलनरत कर्मचारीहरु क्षमायाचना गर्दछौैं ।’ आफूहरुको मागप्रति अस्पतालको शिघ्र भन्दा शिघ्र ध्यानाकर्षण हुनुपर्ने र बिरामीहरुप्रति अस्पताल पनि जिम्मेवारी हुँदै आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने अध्यक्ष गहतराजको आग्रह छ ।

    ‘देशव्यापी चलिरहेको नर्स तथा प्यारामेडिक्सको अन्यायविरुद्ध आन्दोलन कार्यक्रमलाई समर्थन दिदै यस अस्पताल प्रशासनलाई सरकारले हामीलाई तोकिदिएको सेवासुविधा हाम्रो हकअधिकारस्वरुप उपलब्ध गराइदिनुहुन भनी कार्तिक २ गतेसम्म हाम्रो माग सम्धोधन गरिदिन अनुरोध गर्दै भदौ ३१ गते पत्र दियौं, ’विज्ञप्तीमा उल्लेख छ ।

    कार्तिक २ गते १० बजेसम्म पनि अस्पताल प्रशासनले कुनै चासो नेखाएकाले त्यसै दिन जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ दिइ अस्पताल प्रशासनलाई आफूहरुका माग ५ बजेसम्म समर्थन नभएमा हड्तालको कार्यक्रम अगाडि बढाउने भन्दै पुनः निवेदन दिएको अध्यक्ष गहतराजले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

    त्यसपछि ५ बजेअघि भर्ना भएका बिरामीहरुलाई कालोपट्टी बाँधी सेवा दिएको र ५ बजेपश्चात नयाँ बिरामी भनाए नलिएको तर, आकस्मिक सेवा (इमरजेन्सी) वार्डमा यथावत राखेको उहाँले जानकारी दिनुभयो । 

    कार्तिक ३ गते तिहारलाई मध्यनजर राखी कार्यक्रम तालिका सुधार गरी पुनः प्रशासनलाई निवेदन लेखी माग पूरा गर्न अनुरोध गरिएको आन्दोलनरत नर्स तथा प्यारामेडिक्स कर्मचारीहरुले बताएका छन् ।

    कार्तिक २ गते ५ बजेअघि भर्ना भएका क्रिटिकल लगायत सम्पूर्ण वार्डमा सेवा दिइरहेको, डायलासिस वार्डमा तालिका अनुसार बिरामीलाई अवरोध नगरिकन सेवा उपलब्ध गराइरहेको अध्यक्ष गहतराजले जानकारी दिनुभयो । सोही दिन ५ बजेपश्चात नयाँ भर्ना नलिए पनि इमरजेन्सी वार्डमा आउनुभएका बिरामीलाई नर्स तथा प्यारामेडिक्सले दिनुपर्ने सेवा दिइरहेको उहाँले बताउनुभयो ।